STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगरपालिकाको स्थानीय पाठ्यपुस्तक तयार

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १९, शुक्रबार

आफ्नो मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक काठमाडौं महानगरपालिकाले तयार गरेको छ । महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो । 

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो । 

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनालका अनुसार  गत वैशाख–जेठबाटै लागु हुने गरी यो पाठ्यक्रम   तयारी गरेको भएता पनि कोभिड र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाई भएको हो तर पनि काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत पठन–पाठन अघि बढाएकाे कुरा उहाँले भन्नुभयो ।  

उहाँले काठमाडौँ महानगरपालिका भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेको र संस्थागत विद्यालयको संख्या करीब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने जानकारी दिनुभयो । 

काठमाडौं महानगर ऐतिहासिककालदेखि  नेपालभाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक पनि नेपालभाषामै तयार गरेको जानकारी पनि दिएको छ ।  

काठमाडौं महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकोले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको हो ।

पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको जानकारी दिनुभयो । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको पनि उहाँले जानकारी दिनुभयो ।  

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस भन्ने उदेश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिनुभयो । 

काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजाइनमा गइसकेको छ । पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ । पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ ।

नयाँ संविधानमा व्यवस्था गरिए अनुरुप मुलुकको कुनै पनि स्थानीय तहले स्थानीय भाषामै स्थानीय पाठ्यपुस्तक तयार गरेको यो नै पहिलो हो । यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास महानगरपालिकाले लिएको छ ।

Categorized in शिक्षा