STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं आइपुग्यो मेलम्चीको पानी, भोलिदेखि वितरण

Janjati Khabar – Janjati Khabar | २०८० पौष २९, आइतबार

काठमाडौं- वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौं आइपुगेको छ ।

पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् ।

जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ ।  त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिनेछ ।

मेलम्ची खोलाबाट गत बुधबारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिबार साढे ८ करोड हाराहारी पानी आएको थियो । आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ । 

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । काठमाडौंमा मेलम्चीको पानी आउन अव भौतिक रूपमा समस्या नभए पनि यसअघिको निर्माण व्यवसायी सीएमसीले स्थानीय ठेकेदार र व्यवसायीलाई रकम तिर्न बाँकी रहेकोले सो समस्या समाधान गर्न बाँकी रहेको छ ।

मेलम्ची खानेपानी काठमाडौंमा वितरण गर्न थालिएको ३ वर्ष भएको छ । बाढी पहिरोका कारण मेलम्ची पानी पठाउने स्थल हेलम्बु गाउँपालिकाको अम्बाथानमा पटकपटक निर्माणको काम गर्दा अर्बौँ रुपैयाँ खर्च भएको छ । २०७८ साल असार १ गते आएको बाढी पहिरोपछि काठमाडौंमा मेलम्चीको पानी नियमित रूपमा आउन सकिरहेको छैन ।

अघिल्लो वर्ष वैशाख र जेठ महिनामा पानी काठमाडौं आएसँगै वर्षातमा रोकिएको थियो । बाढी पहिरोले आयोजना स्थलमा यो वर्ष पनि क्षति पुगेका कारण बन्द भएको ७ महिनापछि बल्ल काडमाडौंमा पानी आइपुगेको हो ।

Categorized in उपत्यका