काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक
Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ११, बुधबार
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।
कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।
यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत प्र.जि.अ. पराजुलीले अनुरोध गरेका छन् ।
स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गरे । यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उनले बताए ।
विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गरेका छन् । यस्तै कोरोनाबाट थप जटिलता नआओस भन्नका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
मास्क नलगाई हिड्नेलाई कारबाही
बारामा मास्क नलगाई घरबाहिर हिड्नेलाई जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गर्ने भएको छ ।
भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो ।
डीसीसीएमसीको मंगलबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न फागुपूर्णिमा (होली)मा भिडभाड नगर्न भनेको छ ।
सीमानाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्य रुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराए मात्र प्रवेश गर्न दिने सूचनामा उल्लेख छ ।
Categorized in उपत्यका

