STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंका २०० वर्ष पुराना प्रेमगीतहरू

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ३, शनिबार

काठमाडौं– सन् १८५० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत पुगेका थिए । त्यहाँ राष्ट्रिय गानको चर्चा चल्यो । जंगबहादुर अलमल परे । नेपालमा राष्ट्रिय गान भन्ने नै थिएन । देशकै बेइज्जति हुने ठानेपछि उनले आफूसँगै गएका नेपालीहरूसँग कानेखुसी गरे । त्यति बेला नेपालभाषाको गीत ’राजमती’ निकै चर्चित थियो । उनीहरूले त्यही गीत बजाइदिए । बेलायतमा त्यसरी बजेपछि ’राजमती’ गीतको चर्चा झनै चुलियो, जुन अहिलेसम्म कायम छ । यो गीतले ’राजमती’ नाउँकी केटीको सुन्दरता बयान गरेको छ । एक जना युवा राजमती पाए मात्र बिहे गर्छु भन्छ । उनले आफ्नो यही ढिपी गीतमार्फत् व्यक्त गरेका छन् । राजमती कुमति जिके वःसा पिरती (राजमती कुमति मसित आए पिरती) हाय बाबा राजमतिचा (हाय बाबा प्यारी राजमती) राजमती मबिल धाःसा काशी वने त्यल बुबा (राजमती नदिएदेखि काशी जान लागेँ बुबा) हयाब्यु राजमतिचा (ल्याइदेऊ राजमतीलाई) यो गीत १८३४ सालमा लेखिएको अभिलेख छ, रचनाकार भने उल्लेख छैन । राजमतीजस्तै काठमाडौंमा चर्चित अर्को प्रेमगीत ’सिरिसाया हेकु’ हो, जसमा प्रेमका अभिव्यक्तिसँगै कृषि, सिर्जना र चिन्तन बिम्बात्मक रूपमा प्रस्तुत छ । यसका सर्जक रामकृष्ण दुवाल हुन् । दुवालका धेरै गीत प्रेमभन्दा देश, समाज, संस्कृति लगायतसँग जोडिएका छन् । तर, गीत–संगीतप्रति रूचिले उनलाई अन्य गीतबारे अध्ययन गर्न घच्घचाउँछ । पछिल्लो समय दुवाललाई निकै मनपर्ने नेपालभाषाको प्रेमिल गीत हो– लिक्क वयाः जित धाल वं छ हे जक यल हं ल्वमंके हे मफु हं वैगु खँ न्यनाः सत्य जि ला मछासे च्वन ’उसले मेरो काननजिक आएर मलाई मन पराउँछु भन्यो । उसको कुरा सनेर म छक्कै परेँ, मलाई लाज लाग्यो’ भन्ने रमाइलो प्रेम प्रसंग गीतमा छ,’ दुवाल आफूलाई मनपरेको गीत अर्थ्याउँछन् । यो गीत रत्नशोभा महर्जनले गाएकी हुन् । उनी दुवालकै विद्यार्थी हुन् । मंगल माध्यमिक विद्यालयमा पढाउँदा रत्नशोभामा संगीतप्रति निकै रूचि देखिएको उनी सम्झन्छन् । यो गीतमा एक पंक्ति छ– न्हिलाः न्हिलाः वसन्त ऋतु वल । गीतका यी शब्दले ’तिमी आएदेखि वसन्त ऋतु पनि हाँसीहाँसी आएको छ’ भन्ने भाव दिन्छ । दुवालका अनुसार उक्त पंक्ति मल्लकालीन चर्चित कवि ऋद्धिलक्ष्मीको कविताबाट प्रभावित छ, जुन १६८० सालतिरको हो । नेपालका महिला स्रष्टामा सशक्त लेखक मल्लकालमा थिए, त्यसैमध्येकी ऋद्धिलक्ष्मी पहिलो महिला कवि हुन् । काठमाडौंका मल्ल राजा पार्थिवेन्द्रकी रानी र भूपालेन्द्रकी आमा हुन् उनी । ’लिक्क वया’ गीतको बाँकी हरफ पनि दंग पर्दै दुवालले गुन्गुनाए – मिखाभाषं खं ल्हाना छु छु धाल वं वैगु पह खनाः सत्य जि ला मछासे च्वन ’तिमीलाई जुन दिनदेखि देखेँ, त्यो दिनदेखि मलाई तिम्रो सम्झनाले तान्यो । आँखाको भाकाले के भन्यौ, म लठ्ठ भएँ,’ गीतको भावार्थ बताउँदै उनी भन्छन्, ’यो गीत निकै मीठो छ, सुनिरहूँ लाग्ने । ’ त्यस्तै अर्को गीत सम्झन्छन् उनी– व छु गल्ली, थो छु गल्ली । दुवालका अनुसार यो रणबहादुर शाह पालाको गीत हो । प्रेम र यौवनका विम्ब गीतमा पाइन्छन् । पानवती नामकी राम्री, चुलबुले केटीको वर्णन गीतमा छ । मखन टोलको एउटा गल्लीबाट निस्कने ती केटीले जंगिशेरको कल्ली लगाएकी छन् र हिँड्दा पनि नाचेजस्तो देखिन्छ भन्ने बताउन खोजेको छ । ’मनपर्ने केटीको वर्णन गीतमा पाइन्छ,’ दुवाल भन्छन् । अर्को चर्चित नेपालभाषा गीत ’छन्त जिं नापलाः वय् घण्टाघरया क्वय्’ का शब्दहरू उनलाई खासै सशक्त लाग्दैन । शब्द साधारण भए पनि संगीत भने सशक्त मान्छन् उनी । ’अर्को कुरा गीतमार्फत् प्रेमिकालाई ऐतिहासिक घन्टाघरमा बोलाइएको छ । त्यही एउटा लाइन नै गीत चर्चित बन्नुमा काफी छ,’ उनले भने । गीतमार्फत् प्रेम–विनयका विम्ब बताउँदै दुवाल प्रेमको परिभाषा यौवन मात्र नभई आत्मासँग जोडिएको वर्णन गर्छन् । आत्माले बनाएको निश्चित धरातलमा प्रेमको भावना विकास हुने उनको धारणा छ । प्रेम के हो? बुझाउने क्रममा उनी भागवतमा उल्लिखित भगवान कृष्णको प्रेम प्रसंग सम्झन्छन् एकपल्ट कृष्ण बिरामी परेर सुतिरहेका रहेछन् । नारदले कृष्णलाई त्यो अवस्थामा भेटेपछि विभिन्न ठाउँ पुगेर जडिबुटी खोज्छन् र कृष्णलाई खुवाउँछन् । कृष्ण निकै हुँदैनन् । कसैगरी निको नभएपछि नारदले कृष्णलाई सोध्छन्, ’तपाईंको रोगको उपचार के हो प्रभु?’ कृष्णले भनेछन्, ’मलाई मेरा गोपिनीहरूका पैतालाको माटोको टीका लगाइदेऊ, म निको हुन्छु । ’ गोपिनीहरू भेट्ने क्रममा नारदले उनीहरूलाई सोधेछन्, ’यसरी धूलो दिँदा तिमीहरूलाई पाप लाग्दैन?’ उनीहरूले भनेछन्, ’पाप छोडिदिनुस् । पहिला उहाँको रोग निको हुनुर्पयो ।’ गोपिनीहरूको पैतालाको माटोको टीका लगाएपछि कृष्ण निको हुन्छन् । कृष्णले नारदलाई भन्छन्, ’म मथुरामा भए पनि उनीहरूले गोकुल, वृन्दावनमा मलाई उति नै माया गरिरहेका छन् । प्रेम भनेको भावनासँग जोडिएको हुन्छ ।’ त्यस्तै, एकपटक कृष्णले दिनभर गोपिनीहरूसँग फागु (होली) खेले । पछि राधालाई भेट्दा उनले भनिछन्, ’तपाईं त सबै गोपिनीसँग हुनुहुन्छ । तपाईं सक्कली नै आउनुभएन ।’ त्यसपछि कृष्णले होलीको अबिर हावामा उडाए र राधालाई सोधेछन्, ’यो अबिरमध्ये कुन सक्कली, कुन नक्कली ? भन त राधा ?’ प्रेम सक्कली वा नक्कली नहुने कृष्णको तर्क रहेको दुवाल बताउँछन् । फेब्रुअरी १४ लाई ’प्रेम दिवस’ का रूपमा मनाउने चलन पछिल्लो समय बढ्दो छ । दुवाल आजकलका प्रेम भावना र आत्मीयताभन्दा आफूले मन पराएकासँग वैचारिक लेनदेन र यौवनमा बढी केन्द्रित भएको ठान्छन् । प्रेम गर्नेहरूलाई उनी सुझाउँछन् पनि, ’प्रेम भनेको बजारको बासी मिठाइजस्तो नहोस्– खाउन्जेललाई मीठो, तर अस्वस्थकर । त्यस्तो प्रेम गर्नुस् जुन आत्मीय र जिन्दगीभर रहिरहोस् ।’

(सेतोपाटीबाट साभार)

Categorized in सिनेमा