काठमाडौँ महानगरपालिकाबाट रेडियो शिक्षा प्रारम्भ
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
विजयरत्न असंबरे
काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । ‘मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीहरुलाई बैकल्पिक शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौँ महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौँ । उहाँले रेडियो शिक्षालाई सुझाव आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिनुभयो । प्रमुख शाक्यले रेडियो शिक्षा कार्यक्रम शुभारम्भपछि शिक्षा बिभागका अधिकारी र प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । ‘ पूर्वाधार उपलब्धताका दृष्टिले पनि महानगर क्षेत्रभित्रकाका संस्थागत र सामुदायिक बिद्यालयकाबीचमा अन्तर नहोस्,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ को संक्रमण र रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण बिद्यालयहरुमा शैक्षिक कार्यक्रम अहिले बन्द छन् । यही बेला पूर्वाधार सुधारको कामलाई निरन्तरता दिनुहोला ।’ प्रमुख शाक्यले उलडकडाउनका कारण शिक्षक, बिद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका समस्यामध्ये शैक्षिक सत्र व्यवस्थापन प्रमुख मध्येको एक समस्या भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताउनुभयो । काठमाडौँ महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय ३ ओटा विशेष विद्यालय र ६ सय ४३ ओटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताउनुभयो । सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफएम ९४ बिन्दु ६ मेगाहर्जबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ । रेडियो शिक्षा कार्यक्रम सञ्चालन बिद्यालयका शिक्षकहरुले गर्नुहुनेछ भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्नुहुनेछ । दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, बिषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ । जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन मा वि का प्रधानाध्यापक रविना महर्जनले र कक्षा ७ देखि १० सम्मको संयोजन बिश्व निकेतन मा वि का प्रधानाध्यापक हेरम्बराज कंडेललाई जिम्मा दिइएको कुरा महानगरपालिका सुत्रले जनजातिखबरलाई जानकारी दिएको छ । Categorized in उपत्यका


