STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा थप ३ वटा शवदाहगृह बन्ने

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २९, बिहिबार

 काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुने भएको छ ।

आज काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार शवदाहगृह निर्माण गर्न कोषले सार्वजनिक सूचना मार्फत बोलपत्र आव्ह्वान  गरिसकेको र उक्त बोलपत्र हाल मूल्याङ्कनको क्रममा रहेकोमा सो खरिद प्रक्रिया टुंगोमा पुर्याई बोलपत्रदाता छनोट गर्ने, आसयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्ने छ । सम्झौतापत्रमा शवदाह गृहको अग्रभागमा देखिने गरी शिलापत्रमा काठमाडौँ महानगरपालिकाको अनुदानमा निर्माण भएको शवदाह गृह भनी लेख्नु पर्ने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गर्नुभयो । 

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष  २०७७/०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै काम समयमा सम्पन्न गर्न सुझाव दिनुभयो । 

शाक्यले काठमाडौँ महानगरपालिकाले १५ ओटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो ।  

शाक्यले अहिले कोभिड–१९ का कारण विश्व नै महामारीको चपेटामा परिरहेको र नेपाल पनि त्यो भन्दा पृथक नरहेको भन्दै महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।  

ढकालले अहिले सञ्चालनमा रहेका मेशिनबाट शवदाह गर्न १ देखि डेढ घण्टासम्म लाग्ने गरेको भन्दै अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने बताउनुभयो ।

Categorized in उपत्यका