STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँको हिलो–धुलोमुक्त अभियानले मुर्तरुप प्राप्त गर्नेछ - मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २२, बुधबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै  मेयर   शाक्यले यस्तो बताउनु भएको हो । समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गर्नुभएको थियो । 

मेयर  शाक्यले मुलुक भित्रकै स्थानीय तह–स्थानीय तह बीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य महानगरपालिकाले गरिरहेको भन्दै त्यसले आन्तरिक  पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताउनुभयो । 

मेयर शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न,  मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्र्नलगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना गरेको महानगरपालिकाले जानकारी दिएको छ । 

मेयर शाक्यले यस्ता सम्बन्धले स्थानीय सरकारलाई नेपालको संविधान, संघीय कानुन, प्रदेश कानुन तथा अन्य प्रचलित ऐन कानुनद्धारा तोकिएका काम, कर्तव्य, अधिकार तथा दायित्व वहन गर्न आपसमा विचारविमर्श तथा अन्तरक्रिया गरी दिशावोध गर्न सहयोग पुग्ने पनि बताउनुभयो । 

भगिनी सम्बन्ध स्थापनासँगै जनप्रतिनिधि, कर्मचारी तथा नगरवासीहरुमा रहेको ज्ञान, शीप तथा अनुभवको आदानप्रदान गर्न अध्ययन तथा अवलोकन भ्रमण, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रमहरु दुवै नगरको हित हुने गरी सहकार्यमा संचालन गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ ।  

भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरपालिकाले आ.व.२०७७÷०७८ को स्वीकृत बजेट अन्तर्गत नगर नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न भगिनी सम्वन्ध स्थापना भएको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी यो सम्झौता गरेका पनि गरेको छ ।

महानगरपालिकाले समझदारीपछि मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर भयो ।  सो सम्झौतापत्रमा पनि प्रमुखद्वय शाक्य र अर्यालले नै हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख  अर्यालले काठमाडौँबासीसँग मेलम्चीको सम्बन्ध गहिरो रहेको भन्दै यो सम्बन्धले थप प्रगाढ हुने पनि बताउनुभयो । उहाँले काठमाडौँबासीले मेलम्चीको पानी जति सक्दो छिटो उपयोग गर्न पाउन भन्नेमै आफुहरु रहेको भन्दै अर्यालले मेलम्चीबासीका पनि केही माग रहेको र सरोकारवाला निकायसँग छलफल भैरहेको भन्दै त्यसमा सहजीकरण गर्न महानगरपालिकासँग आग्रह गर्नुभयो । वार्षिक करीब ५० करोडको दूधसँगै दाल, चामल र अन्य तरकारी समेत मेलम्चीबाट काठमाडौँ आउने गरेको स्मरण गराउँदै जनजिवीकाका सवालमा पनि काठमाडौँ र मेचम्चीबिचको भगिनी सम्बन्ध थप प्रगाढ बनाउन सकिने तर्क गर्नुभयो । उहाँले जर्सिङ पौवाको बाटो स्तरोन्नतीपछि मेलम्ची र काठमाडौँको दूरी अझ कम हुने भएकाले पर्यटकीय गन्तव्यका रुपमा पनि दुई नगरलाई जोड सकिने बताउनुभयो ।  

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताउनुभयो । मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवनी नेपालले पाँचपोखरी, गुफाडाँडा जस्ता पर्यटकीय स्थल र हेलम्बु जाने प्रवेशद्वार पनि मेलम्ची नै भएकाले पर्यटनको प्रशस्त संभावना भएकाले भगिनी सम्बन्धले आगामी दिनमा थप सहकार्य गर्न सकिने भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मेलम्ची नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, वडाध्यक्षहरुलगायतको पनि उपस्थिति रहेको थियो ।

काठमाडौँ महानगरपालिकाले यस अघि चीनका ६ वटा (ल्हासा, सियान, सेञ्जेन, लाञ्जाउ, चेङ्दु र नान्जिङ्) संयुक्त राज्य अमेरिकाका ४ वटा (युजेन, रोचेष्टर, फ्रेडरिकवर्ग र वोल्डर) सँग यस अघि नै भगिनी सम्वन्ध स्थापना गरिसकेको छ । 

त्यसैगरी काठमाडौँ महानगरपालिकाले  जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, बर्माको यंगुनु, गणतन्त्र कोरिया (दक्षिण कोरिया) को सोल, जनवादी गणतन्त्र उत्तर कोरियाको पेङ्वाङ् र गणतन्त्र भारतको वाराणसी नगर जस्ता महानगरहरुसँग पनि  भगिनी सम्बन्ध स्थापना गरिसककेको छ । बैङ्ककको थाइल्याण्ड र पाकिस्तानको इस्लामावाद नगरसँग पनि काठमाडौँ महानगपालिकाले भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा अघि बढाएको कुरा पनि मेयर शाक्यले बताउनु भएको छ  ।

Categorized in उपत्यका