कांग्रेस-एमाले बैठकमा सहमति जुटेन
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १४, शनिबार
काठमाडौं - एमसीसी अनुमोदन गर्ने विषयमा कांग्रेस र एमालेबीच शनिबार पनि सहमति हुन सकेन । कांग्रेसका नेताहरू एमालेसँग छलफलका लागि बालकोट पुगेका थिए ।
बालकोटमा लामो समय छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले शनिबार सहमति जुटाउने गरी छलफल भए पनि सहमति हुन नसकेको बताए ।
शनिबार कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच लामो छलफल भएको थियो । छलफलमा आफूहरूले संसद खुलाएर राष्ट्रिय सहमतिका साथ एमसीसी अनुमोदनका लागि एमालेसँग आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए । तर, एमालेले संसदमा जाने बाटो खुलिनसकेको भन्दै पूरानै अडान दोहोर्याएको उनले बताए ।
एमालेले सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने वा १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने अनिमात्र संसदको अवरोध हट्ने अडान राख्दै आएको छ । कांग्रेस एमालको यो अडानमा सहमत भएको छैन ।
दोस्रो तहका नेताबीच सहमति जुटे प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारी थियो । तर, सहमति नजुटेपछि देउवा बालकोट गएनन् ।
एमालेसँग पनि सहमति नजुट्नु र सत्ता गठबन्धनमा पनि एमसीसीबारे सहमति नभएकाले आइतबार बस्ने प्रतिनिधिसभा बैठक पनि स्थगित हुने सम्भावना बढेको छ । यद्यपी कांग्रेस र एमालेबीच आइतबार पनि छलफल गर्ने समझदारी भने भएको छ ।


