STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कस्टम हायरिङ सेन्टर स्थापना

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोनको ५० प्रतिशत अनुदानमा धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरस्थित पाटीचौर साना किसान कृषि सहकारी संस्था लि। ले ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरेको छ । सुपरजोन कार्यालयको रु १५ लाख र उक्त सहकारी संस्थाको रु १५ लाख गरी कूल रु ३० लाखको लागतमा सो केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्र उद्घाटनका क्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले त्यहाँ गठित छ वटा समूहलाई कृषि उपकरण वितरण गर्दै यसबाट कृषि उत्पादन वृद्धि हुने विश्वास गर्नुभयो । “हामीले नगरबाट प्रत्येक वडालाई त्यस ठाउँको उत्पादनको वस्तुलाई हेरेर उत्पादन केन्द्रको रुपमा विकास गर्ने योजना बनाइसकेका छौँ ।” उहाँले भन्नुभयो, “प्रत्येक वडामा किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न सङ्कलन केन्द्र पनि स्थापना गर्दैछौँ ।” उक्त एकाइ आलु सुपरजोन बनेपा शाखाका प्रमुख वरिष्ठ कृषि अधिकृत दीपक पौडेलले किसानको परम्परागत खेतीलाई आधुनिकीकरण गर्न, मानव श्रम कम गर्न र लागत घटाएर उपकरणको प्रयोग गरी उत्पादन बढाउने काममा सहयोग गर्न उक्त सेन्टर स्थापना गरिएको बताउनुभयो । श्री पाटीचौर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम भट्टराईले किसानले गर्दै आएको खेतीमा आधुनिकीकरणको माध्यमबाट उत्पादन बढाएर लागत घटाउने काममा सहयोग पु¥याउन यस संस्थाले सो कार्य गरेको बताउनुभयो । अर्का समूहका संयोजकसमेत रहेका किसान गणेश तामाङले अब छिटोछरितो ढङ्गले काम गर्न सकिने बताउनुभयो । उक्त संस्थाले ३० लाखको लागतमा पावर टेलर तीन थान, मिनीटेलर ४२ थान, थ्रेसर मल्टी क्रप दुई थान, पड्डेल थ्रेसर दुई थान, ब्रस कटर एक थानलगायत अन्य उपकरण गरेर वितरण गरेको थियो ।
Categorized in राष्ट्रिय