STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

औपचारिक भ्रमण पूरा चिनियाँ नेता ली स्वदेश फिर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३०, बिहिबार

काठमाडौं - नेपालको चार दिने औपचारिक भ्रमण पूरा गरी जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वकाे टाेली आज स्वदेश फिर्ता भएका छन् । चीनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्नीप्रसाद सापकोटाले विदाई गरेका थिए। सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए । उनी सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए ।

चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएकाे थियाे ।

मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए। परराष्टमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।

Categorized in राजनीति