STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओलीको प्रतिगमनकारी निर्णयविरुद्धमा जनपरिचालन

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ९, बुधबार

पाँच दलीय विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्धमा आन्दोलन थाल्ने भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतिगमनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकले दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएको निष्कर्ष निकाल्दै स्वास्थ्य मादण्ड अपनाएर विरोधका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।

जनपरिचालनका कार्यक्रमअन्तर्गत बिहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्ने उनको भनाइ छ ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए ।

ओलीले गत २१ र २८ जेठमा गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले मंगलबार कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई बैठकले स्वागत गरेको छ ।

यस्तै, ७ जेठमा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनलाई पनि सर्वोच्चले पुनर्स्थापित गरिदिने विश्वास लिएको छ ।

७ जेठको मध्यरातमा राष्ट्रपतिले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धन त्यसविरुद्ध रिट निवेदन लिएर अदालत गएको थियो ।

गठबन्धनले प्रतिनिधिसभाका एक सय ४६ जना सांसदलाई सशरीर अदालतमा उपस्थित गराएर संविधानको धारा ७६ (५) बमोजिम कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेको थियो ।

अहिले सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिटमाथि अन्तिम सुनुवाइ चलिरहेको छ ।

Categorized in राजनीति