STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओडारमा लुकाइराखेको २२ नाल भरुवा बन्दुक फेलापर्‌यो

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ११, सोमबार

बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । हिजाे दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओडारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको हवारीले बताए ।

भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि स्थानीयवासीले डराएर ओडारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ ।

'बागलुङको पश्चिम क्षेत्रमा भरुवा बन्दुक लुकाउने र शिकार खेल्ने परिपाटी रहेछ, हामी निस्तेज पार्ने अभियानमा छौँ', हवारीले भने, 'प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओढारमा त केहीले जङ्गलमा लुकाउन थालेका हुन् ।'

ओडारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

Categorized in अपराध-दुर्घटना