STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमसीसी विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप, १३७ प्रदर्शनकारी नियन्त्रणमा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ४, बुधबार

फागुन ४, काठमाडौं - अमेरिकी सहायता परियोजना एमसीसी संसदमा पेस गर्न लागेको विरोधमा बुधबार उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १ सय ३७ जना प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा परी १५ जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये दुई जना प्रदर्शनकारीको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते चार जना प्रहरीको पनि वीर अस्पतालमा उपचार भइरहेको छ ।

पक्राउ परेकाहरूलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डप तथा अन्य प्रहरी कार्यालयमा राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीहरूलाई साँझमात्रै छोड्ने तयारी प्रहरीको छ । पक्राउ परेका प्रदर्शनकारीमध्ये १२ जना महिला छन् ।

एमसीसीको विरोधमा सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । मा‌ओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि प्रदर्शनमा सहभागी भएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तासमेत प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा तथा अश्रु ग्यास प्रहार गरेको थियो । त्यस्तै प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा हानेका थिए ।

माइतीघरदेखि नाराजुलुससहित नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा करिब ३ सय मिटर पश्चिममा रोकेको थियो । यद्यपि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । तर, प्रदर्शनकारीहरू निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरी र पर्दशनकारीबीच झडपको अवस्था सृजना भएको थियो । प्रहरीले अश्रग्यास सहित पानीको फोहोरा हानेको थियो ।

Categorized in राजनीति