
उपराष्ट्रपतिको साझा उम्मेदवारको टुंगो लाग्न सकेन, भोलि पुनः बैठक बस्ने
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १, बुधबार

काठमाडौं - १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निस्कर्षबिहीन भएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र भोलि यो विषयमा बैठक बसेर थप निर्णय गर्ने बताए।
नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल भएको बताए ।
उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ । जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ । नेकपा (एमाले)को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी थिए ।
Categorized in राजनीति