STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपयुक्त समयमा परीक्षा लिने गरी स्नातक दोस्रो वर्षको अनलाइन कक्षा सुरु

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ४, मंगलबार

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ ।

निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन कक्षा सुरु भएको जानकारी दिए ।

विश्वविद्यालयमा हाल स्नातक तह प्रथम वर्षका दुईवटा समूह हुँदा असजिलो महसुस भएको छ ।

पुरानो पहिलो वर्षको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । स्नातक तहका नयाँ विद्यार्थीले भने फागुन अन्तिम साताबाट भर्ना भएर पठनपाठन सुरु गरेका छन् ।

विश्वविद्यालयले यसअघि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको मात्र अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरे पनि अब सबै विद्यार्थीलाई समेटिएको जनाइएको छ ।

पुरानो पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई दोस्रो वर्षको कक्षा सञ्चालन गरिएको जनाइएको छ । पहिलो वर्षको परीक्षा दिन नपाए पनि समयको सदुयपोग होस् भन्ने हिसाबले दोस्रो वर्षको पठनपाठनमा जोडिएको जानकारी नियन्त्रक जोशीले दिए ।

पुराना स्नातक तह प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसकेको छ । यस हिसाबले उनीहरूको समय खेर जाने अवस्था रहेको जनाइएको छ ।

दोस्रो वर्षमा अध्ययनरत ती विद्यार्थी उपयुक्त समय आएलगत्तै पहिलो वर्षको परीक्षामा सहभागी हुनेछन् । नयाँ भर्ना भएका विद्यार्थीको पनि अनलाइन कक्षा सुरु गरिएको जनाइएको छ ।

Categorized in शिक्षा