STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्तर कोरियामा खाद्यान्न यसै महिना पठाउने दक्षिणको तयारी

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ६, सोमबार

दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । गत महिना सियोलले उत्तर कोरियालाई विश्व खाद्य कार्यक्रम मार्फत ५० हजार टन चामल उपलब्ध गराउने घोषणा गरेको थियो । उत्तर कोरियामा मौसमी प्रतिकूलताका कारण यस वर्ष त्यहाँको प्रमुख खाद्य बाली धानको उत्पादनमा व्यापक गिरावट आएको थियो । एकीकरण मन्त्रालयका उपप्रवक्ता किम यून–हानले भन्नुभयो– दक्षिण कोरियाले यसै महिना ९जुलाई० उत्तर कोरियालाई चामल उपलब्ध गराउँदैछ र आगामी सेप्टेम्बर महिनाभित्रै तोकिएको कोटा सबै उत्तर कोरिया पुगिसक्छ । उहाँले उत्तर कोरिया पठाइने पानीजहाज र अरु उपकरणको ढुवानीका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकाउन हाल गृहकार्य भइरहेको जानकारी दिनुभयो । सन् २०१० यता उत्तर कोरियाका लागि चामल ढुवानी हुन लागेको पहिलो पटक हो । अति वर्षाका कारण खेतीबालीमा ठूलो क्षति भएका कारण त्यसबखत उत्तर कोरियाका निम्ति ५ हजार टन चामल उपलब्ध गराइएको थियो । उत्तर कोरियाको स्थलगत भ्रमण गरेका विश्व खाद्य कार्यक्रम र खाद्य तथा कृषि संगठनका विज्ञ तथा प्रतिनिधिहरुले सन् २००८ यताकै विषम मौसमी प्रतिकूलताका कारण खाद्य उत्पादनमा ठूलो असर परेको र करिब एक करोड मानिस अर्थात् कूल जनसंख्याको करिब ४० प्रतिशतलाई खाद्यान्नको ठूलो अभाव रहेको प्रतिवेदन दिएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय