relans
ni new 83
nib 2082 5

इन्द्रध्वजोत्थानको साइत मङ्गलबार बिहान ९ः१७ बजे

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २१, शनिबार

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान लिङ्गो ठड्याउने साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर प्रवेश गराउने भन्ने गरिएको छ । यही भदौ १५ गते बिहान ११ः७ बजे वनयात्रा गरी त्यसै दिन राति ८ः१ बजे विधिपूर्वक बलि पूजासहित लिङ्गोका लागि रुख काट्ने साइत दिइएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । समितिले दिएको साइतअनुसार नै लिङ्गोका लागि रुख काटेर ल्याइएको हो । केन्द्रीय मानन्धर सङ्घको नेतृत्वमा भक्तपुरको चित्तपोल सामुदायिक वनमा विधिपूर्वक उपयुक्त रुख छानी लिङ्गोका लागि काटिन्छ । यसका लागि नेपाली सेनाको पनि सहयोग लिने गरिएको गुठी संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४ः०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु हुन्छ । त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्नुहुने परम्परा छ । त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइनेछ । भदौ २८ गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गराइने संस्थानले जनाएको छ । त्यसै दिन राति करीब ८ः०० बजे जीवित देवी कुमारीसँग राष्ट्रपति भण्डारीले टीका प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले खड्ग साट्ने परम्परा छ । आगामी असोज १ गते बिहान ५ः३५ बजे लिङ्गो ढाल्ने इन्द्रध्वज पातन साइत दिइएको समितिले जनाएको छ । लिङ्गो ढालेपछि वसन्तपुरबाट तानेर टेकुदोभान लगी वाग्मतीमा सेलाइनेछ । यसरी असोज १ गते तीन हप्ता लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रजात्राका लागि संस्थानले मात्र रु ३० लाख खर्च गर्ने जनाएको छ । भक्तपुरबाट लिङ्गो किनेर ल्याउनेदेखिका काममा बजेटको आवश्यकता पर्छ । जात्रामा संलग्न हुनेलाई काठमाडौँ महानगरपालिकाले पनि बजेटको व्यवस्था गर्ने गरेको छ ।
Categorized in राष्ट्रिय
ppp 2