इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको लोकार्पण
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ ६, मंगलबार
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको सोमबार राजधानीमा लोकार्पण गर्नुभयो ।
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि डा.त्रिपाठीले भन्नुभयो— ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा.डा.दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठुलो न्याय गर्नुभएको छ ।’
समारोहमा लेखक प्रा.डा.दयाराम श्रेष्ठले भन्नुभयो— ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा मैले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु । यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो र यो मेरो अभियानको प्रथम कोसेली पनि हो ।’
नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे प्रसिद्ध समालोचक प्रा.केशव सुवेदीले— ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम हो र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्नेछ’ भन्ने धारणा राख्नुभयो ।
समारोहमा कथाकार इन्दिरा प्रसाईले ‘प्रस्तुत ग्रन्थ मेरो लेखनयात्राको स्वर्णिम उपलब्धि हो’ भन्नुभयो ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सञ्चालित सो समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा.ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट कृतिबारे प्रकाश पारिएको थियो ।
समारोहमा काठमाडौं महानगरपालिका ३१ वडाका अध्यक्ष तथा समाजसेवी सरोज ढकालले ‘नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरी हाम्रो देशकै गौरव हुनुहुन्थ्यो । उहाँको सम्मानमा काठमाडौं महानगरपालिकाले यस क्षेत्रलाई ‘वानीरामार्ग’ नामकरण गरिएको’ जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा.दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुनुहुन्छ । उहाँले छत्तीस वर्ष प्राध्यापन गर्नुभएको थियो । उहाँका तीस वटा कृति प्रकाशित भइसकेका छन् ।
Categorized in राष्ट्रिय


