इटाहा क्षेत्र पर्यटकको पखाइमा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार
चराहरुको चिरबिर आवाजसँगै जङ्गली जनावर नजीकैबाट अवलोकन गर्न पाउँदाको आनन्द बेग्लै हुन्छ । दोदा नदीको हरियो फाँटले आगन्तुकलाई यस्तै आनन्द दिन्छ ।
तीनतर्फ घना जङ्गलले घेरिएको कञ्चनपुरको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ को सीमा क्षेत्रमा पर्ने इटाहा क्षेत्रको अवलोकन गर्नेले यसको ऐतिहासिकतासँगसँगै मनोरम दृश्यको स्वाद लिन पाउँछन् । मानव कोलाहलबाट टाढा एकान्तमा रम्नेहरुका लागि इटाहा क्षेत्र गतिलो गन्तव्यका रुपमा रहेको छ ।
इटाहा क्षेत्र राना थारु समुदायको धार्मिक आस्थाको धरोहरका रुपमा मात्रै नभएर यस क्षेत्रले प्राचीन ऐतिहासिकता पनि बोकेको छ । ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा परिचित इटाहा क्षेत्रमा प्राचीन इट्टा, कुवा र सिक्काहरु पाइनाले यो क्षेत्रमा धेरै अघिदेखि मानव बसोबास रहेको पुष्टि हुन्छ ।
डेढ इञ्च मोटाइ र एक फिट लम्बाइका इट्टासहित मासको गारोमा कुवा र हवन कुण्ड निर्माण गरिएको छन् । जानकारहरुका अनुसार ती किरातकालीन समयका इट्टासँग मिल्दाजुल्दा छन् ।
कुवा र हवन कुण्ड कहिले निर्माण भएका हुन् भन्ने बारे पुष्टि हुन नसके पनि बूढापाकाहरु वर्षौ पुराना हुनसक्ने बताउँछन् । तीन वटा कुवा र एक हवन कुण्ड स्थानीयवासीले विसं २०५६ सालमा पत्ता लगाएका हुन् । उत्खनन् गरे यस क्षेत्रमा थप पुरातात्विक वस्तुहरु पाइनसक्ने स्थानीय बासिन्दा बताउँछन् ।
इटाहा बाबा मन्दिरका पुजारी कनैया रानाले भन्नुभयो – “स्थानीयवासीले दुई वटा कुवाको माटो निकाले पनि अर्को कुवाको माटो आधा मात्रै झिकेका छन् ।”
कुवाबाट मूर्ति र सिक्का निस्कन थालेपछि प्रहरीले कुवा खन्न रोकेका थिए । पाइएका मूर्ति र सिक्का भने प्रहरीले आफूसँगै लगे पनि अहिलेसम्म फिर्ता नगरेको स्थानीय बासिन्दा बताउँछन् ।
“बाल्याकालमा गोठाला जाँदा यस क्षेत्रमा पाइने सिक्काको गोटी खेल्थ्यौं,” बोटसिंह रानाले भन्नुभयो, – “ठाउँ ठाउँमा पाइने सिक्का जम्मा गरेर साथीभाइसँग गोटी खेल्थ्यौं । घरमा लगे अनिष्ट हुन्छ भन्थे । त्यही भएर कसैले पनि वन क्षेत्रमा पाइएका सिक्का घर लैजाँदैन्थे ।”
कुवा र हवन कुण्ड पाइए पछि स्थानीय बासिन्दाले यस क्षेत्रमा पालैपालो छ महिनासम्म सुरक्षा समेत दिएका थिए ।
स्थानीयवासी बचन रानाले भन्नुभयो – “स्थानीय नन्दलाल रानाले जमीनमुनि गाडिएको धन हुनसक्ने भन्दै त्यस क्षेत्रमा खाल्डो खन्न समेत शुरु गरेका थिए । खन्दै जाँदा जमीनमुनिबाट आगोको ज्वाला निस्केपछि खन्न छाडेको थिए ।” अहिले खाल्डो खनेको ठाउँमा स्थानीय बासिन्दाले मिलेर मन्दिर निर्माण गरेका छन् ।
स्थानीय बासिन्दाको भनाइ अनुसार पञ्चायती काल अघि इटाहा क्षेत्र नजीकै रहेको गाउँका बासिन्दा भारतीय डाँकाहरुबाट पीडित थिए ।
इटाहा बाबाको स्थानीय बासिन्दाले स्तुति गर्न थालेपछि डाँकाहरु मानव बस्ती रहेको इटाहा क्षेत्रमा लुटपाटका लागि पुगे पनि बाटो बिराएका कारण लुटपाट गर्न नसकी फर्केकाले त्यसै दिनदेखि यस गाउँको नाउँ देखतभूली रहन गरेको ठगि रानाले बताउनुभयो ।
वर्षौंदेखि पुजारीका रुपमा राना थारु समुदायका व्यक्तिले यहाँ पूजा गर्नुपर्ने चलन रहेको छ । थारु समुदायका व्यक्तिले पूजा गर्ने यो एक मात्र ठाउँ छ ।
चोखो मनले भाकल गरेमा मनोकाँछा पूरा हुने भएकाले स्थानीय बासिन्दा यस क्षेत्रलाई श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । यस क्षेत्रमा इटाहा बाबाको मन्दिरसँगै पुजारी बाबाको कुटी, पूर्णागिरी, सिद्धनाथ, नागदेवता र कालीमाताको प्रतिमा स्थापना गरिएका छन् ।
इटाहा क्षेत्र १० विघा क्षेत्रफलमा फैलिएको छ । शुक्लाफाँटा नगरपालिकका वडा नं १२ को कार्यालयले गत वर्ष यस क्षेत्रमा रु ४० हजारको लागतमा खानेपानीका लागि हेण्डपम्प गाडेको थियो । भौतिक पूर्वाधार निर्माणका लागि यस वर्ष रु ४५ हजार बजेट विनियोजन गरिएको वडाध्यक्ष बाले रानाले बताउनुभयो । लालझाडी गाउँपालिका र मन्दिर आर्थिक सहयोग समितिको पहलमा धर्मशाला निर्माणको कार्य अगाडि बढाइएको छ । समितिकै पहलमा चन्दा सङ्कलन गरेर इटाहा बाबाको पक्की मन्दिर निर्माण गरिएको छ ।
“पर्यटक भित्र्याउन यस क्षेत्रमा पार्क निर्माणसँगै भौतिक पूर्वाधार निर्माणका कार्य अगाडि बढाउन प्रदेश सरकारसँग आग्रह गरेका छौं,” वडाध्यक्ष रानाले भन्नुभयो । पूर्व–पश्चिम राजमार्ग भन्दा झण्डै १० किलोमिटर टाढा रहेको इटाहा क्षेत्र नजीकै देखतभूली गाउँसम्म कालोपत्रे सडकले छोएको छ ।
दोदा नदीमा दुई वर्ष अघिदेखि बन्दै गरेको पक्की पुल निर्माणको कार्य समयमै पूरा भए यो क्षेत्र सडक क्षेत्रसँग सहज रुपमा जोडिने वडाध्यक्ष रानाले बताउनुभयो ।
“ठेकेदारले पुल निर्माणको कार्य बीचमै अलपत्र छाडेर गएको छ,” उहाँले भन्नुभयो – “पुल निर्माणको कार्य समयमै पूरा गराउन प्रदेश र केन्द्र सरकारसँग गुहार लगाएका छौं ।” पुल निर्माण भए यो क्षेत्र सडक सञ्जालमा सहजै जोडिने छ । ऐतिहासिक र पुरातात्विक महत्व बोकेको क्षेत्र भएकाले यसलाई पर्यटकीय गन्तव्यको सूचीमा पार्न सरकारसँग यहाँका बासिन्दाले माग समेत गरेका छन् ।
इटाहा धार्मिक क्षेत्र शुक्लाफाँटा नगरपालिकामा पर्ने वा लालझाडी गाउँपालिकामा पर्ने भन्ने विषयमा विवाद हुँदा यस क्षेत्रले विकासमा फड्को मार्न सकेको छैन । शुक्लाफाँटा नगरपालिका १२ नं वडाका अध्यक्ष बाले राना इटाहा क्षेत्र शुक्लाफाटाँमा पर्ने दावी गर्नुहुन्छ ।
“नजीकैको पूरै बस्ती र धार्मिक क्षेत्र नजीकैको लालपुर्जा भएको जग्गा सबै शुक्लाफाँटा नगरपालिकामै पर्ने भएकाले इटाहा क्षेत्र शुक्लाफाँटाको हो,” उहाँले भन्नुभयो – “इटाहा क्षेत्रलाई संरक्षण गरी अहिलेसम्म भेटिएका पुरातात्विक वस्तुहरु जोगाउने कार्यमा शुक्लाफाँटाका बासिन्दा खटिँदै आएका छन् ।”
मन्दिरका पुजारीदेखि सबै हर्ताकर्ता हामी नै हौं,” मन्दिर प्रवेश गर्ने द्वारमा लालझाडी गाउँपालिकासँगै शुक्लाफाँटा नगरपालिकाको नाम राख्दा विवाद उठाइएको स्थानीयवासी मंगल चौधरीले बताउनुभयो । यो क्षेत्र शुक्लाफाँटाकै रहेको उहाँको दावी छ । लालझाडी गाउँपालिकाले दोदा नदी दुवै स्थानीय तह छुट्याउने सीमा भएकाले नदी पारिपट्टि पर्ने इटाहा लालझाडीमै पर्ने दावी रहेको छ ।
इटाहा क्षेत्र कुन स्थानीय तह मातहत रहने भन्ने विवाद शुरु भए पनि शुक्लाफाँटा नगरपालिका वडा नं १२ ले खानेपानी र अन्य भौतिक पूर्वाधारका लागि थोरै भए पनि बजेट विनियोजन गरेको छ । लालझाडी गाउँपालिकाले अहिलेसम्म त्यस क्षेत्रको विकास लागि बजेट विनियोजन गरेको छैन ।
Categorized in राष्ट्रिय


