STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इजरायल–हमास २४ घण्टाभित्र युद्धविराम हुने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ६, बुधबार

काठमाडौं- कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय  'मानवीयताका आधारमा युद्धविराम' गर्न सहमत भएका छन् । 

सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ ।

सुरुमा ४ दिन युद्ध रोक्ने सहमति भए पनि त्यो लम्बिन सक्ने कतारी विदेश मन्त्रालयले जनाएको छ । सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक र इजरायलले इजरायली जेलमा रहेका महिला र बालबालिका छाड्ने सहमति भएको कतारले जनाएको छ । कतारले दुई पक्षबीचको द्वन्द्व रोक्न, मानवीय क्षति कम गर्न कूटनीतिक प्रयास जारी रहेको र यसमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ ।

इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको हो । इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो ।

सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ । हमासले पनि टेलिग्राममा बयान जारी गर्दै 'मानवीय आधारमा युद्धविरामका लागि सहमति' भएको जनाएको छ । हमासले इजिप्ट र कतारलाई मध्यस्थताका लागि धन्यवादसमेत दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुन: हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन् । बन्धक बनाइएकाहरूको घरफिर्ती आफूहरूको ठूलो लक्ष्य भए पनि पूर्ण रूपमा जित हात नपारेसम्म हमासविरुद्धको कारबाही जारी रहने उनको भनाइ छ ।

हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ । जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन् । इजरायली सुरक्षा फौजले जोशी हमासको कब्जामा गाजामा रहेको दाबी गरेको छ । जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि अस्पतालमा लैजाँदै गरेको भिडिओ उसले सार्वजनिक समेत गरेको छ । तर उक्त भिडिओ को स्वतन्त्र पुष्टि भने भएको छैन ।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय