STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आराम नचाहने ३५ सन्तानकी आमा

Janjati Khabar | २०७९ भाद्र २३, बिहिबार

मेलम्ची, आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४   बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा हुनुहुन्छ । उहाँले एक छोरीसहित ३५ बालबालिकालाई एक्लै संरक्षण गर्दै आउनुभएको छ ।

विसं २०७२ को भूकम्पपछि बालगृहको सुरुआत भएको हो । भूकम्पमा परी ज्यान गुमाउने अभिभावकका बालबालिकाबाट बालगृह सुरुआत गरिएको थियो । अमेरिका बस्ने आफ्नो दिदीले बनाइदिएको जस्ताको टहरोबाट बालगृह स्थापना गरिएको हो । “पछाडि फर्केर हेर्ने हो भने धेरै दुःखका दिन पनि पार गरेँ । त्यो कुरालाई लिएर म कहिल्यै दुःखी बनिन । चामल किनेर खुवाउन पनि गाह्रो हुने अवस्था थियो तर जति दुःख भए पनि बालबालिकालाई कहिल्यै त्यो दुःख महसुस गर्न दिइन । उधारोमा होस् या ऋण गरेर मैले उनीहरुलाई सधँै खुसी राख्ने कोसिस गरेँ”, मीनामैयाँले भन्नुभयो ।

बालबालिकालाई संरक्षण दिएर राख्नु जोखिमपूर्ण काम भए पनि आत्मादेखि चाहेको काम भएकाले निरन्तरता दिइएको उहाँले बताउनुभयो । सुरुआती चरणमा परिवारको समेत साथ नपाउँदा पनि मीनामैयाँलाई बालबालिकाको मायाँले छाड्नै दिएन । आफ्नो छोरी सानै हुँदा पनि उहाँले यस कामलाई  निरन्तरता दिइरहनुभयो । कालान्तरमा घर र माइती दुवै पक्षले साथ दिन थाल्नाका साथै समुदायका मानिसले पनि सहयोग गरेकाले आफूमा थप हौसला बढेको मीनामैयाँले बताउनुभयो ।

“चौँतीस जना मात्र होइन यहाँबाट एसइई पास गरेर पाँच÷सात बालबालिका गइसकेका छन् । कतिपय काम गरेर आफैँ कमाउँदै पढ्न सक्ने पनि भइसकेका छन् । आफ्नो खुट्टामा उभिन सक्ने भइसकेका छन्”, उहाँले भन्नुभयो । विशेष गरी लामो बिदा हुने समयमा मीनालाई बालबालिका सम्हाल्न गाह्रो हुन्छ । फरक जात, फरक भाषा र फरक भूगोलका बालबालिकालाई एकै घरमा मिलाएर राख्नु चुनौती नै रहेको मीनाले बताउनुभयो ।

उहाँले बालबालिकाको संरक्षण र शिक्षासँगै व्यावहारिक ज्ञान पनि दिनुभएको छ । बालबालिकाको इच्छाअनुसार कम्प्युटर चलाउने, तरकारी रोप्ने र पशुपालनमा पनि मीनाले बालबालिकालाई सँगै लैजाने गर्नुभएको छ । ठूला बालबालिका सबै काममा पोख्त भइसकेका छन् । उनीहरुले दैनिक जीवनमा आइपर्ने सबै काम गर्नसक्ने भइसकेका छन् । चौध वर्षीय सुजन तामाङ हाल कक्षा ८ मा अध्ययनरत छन् । उनले पनि दैनिक काम अब आफैँ गर्नसक्ने बताए  । तरकारी लगाउने गोडमेल गर्ने, मोटरसाइकल चलाउन सिक्नेलगायत काम आफैँले गर्ने गरेको उनको भनाइ थियो ।  

“नजिकै रहेको विद्यालयमा पनि कृषि पढाइ हुने भएकाले व्यावहारिक ज्ञान लीन पनि खेतबारीमा जान्छन् । त्यसले उनीहरुले शैक्षिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि सिक्न पाएका छन्”, मीनामैयाँ भन्नुभयो ।
सबैको प्यारी आमा मीनाले गरेको कामलाई पछिल्लो समय धेरैले विश्वास गर्न थालेका छन् । सहयोगी हात बढेकाले पनि अब भने पहिलाको जस्तो व्यवस्थापनमा समस्या नहुने उहाँको भनाइ थियो । आफ्नो आत्मसन्तृष्टिका लागि सुरु गरिएको कामले सार्थकता पाएको र सबैलाई आफ्नो खुट्टामा उभिएर समाजका लागि केही गर्नसक्ने बनाउनु नै आफ्नो लक्ष्य रहेको मीनाले बताउनुभयो ।

पहिला जिल्ला बालकल्याण समितिको पहलमा बालबालिका आउने गरेका थिए । समितिले सिफारिससहित बालबालिका पठाउने गरेको थियो । पछिल्लो समय जनप्रतिनिधिको सहकार्यमा बालबालिका आउने गरेका छन्  । अझै पनि धेरै बालबालिका राखीदिन अनुरोध आइरहेको भए पनि सबैलाई राख्न भने ठाउँ अभावका कारण समस्या भएको छ । बालबालिका राख्नको लागी भइरहेका भौतिक संरचनामा अहिले रहेका बालबालिका मात्र अट्ने उहाँले बताउनुभयो ।
ठाउँ अभावकै कारण धेरै बालबालिका राख्न नसकिएको  र व्यवस्थापकीय पाटो बलियो बनाउन सकेमा थप बालबालिकालाई जोड्न सक्ने मीनाको भनाइ थियो । आफ्नो बुबाले दिएको खेत बेचेर केही सङ्घसंस्थाले गरेको सहयोगमा निर्मित घरमा अहिले रहेका बालबालिकाको लागि मात्र पर्याप्त छ ।

ठूला कक्षामा पढ्ने बालबालिकाले कम्प्युटर चलाउन सक्ने भइसकेका छन् भने कोही मोटरसाइकल चलाउन त कोही खेतीबारीको काममा पोख्त भइसकेका छन् । कक्षा १० मा पढ्ने राधिका कुँवर १५ वर्षकी छिन् । हाल दैनिक जीवनका सबै काम आफैँ गर्न सकेकामा उनी गर्व गर्छिन । बालगृहमा आएपछि आमाले सबै काम सिकाउनुभएको उनले बताइन् ।

बिहान उठेदेखि राति अबेरसम्म नै काममा व्यस्त हुने मीनालाई कहिल्यै फुर्सद नै हुँदैन । बिहान उठेर बालबालिकालाई चिया नास्ता खान दिने, खाना खुवाएर  विद्यालय पठाउने, त्यसपछि खेतीबारीको काम, साँझ फेरि खाना बनाउने चटारो त छँदैछ त्यसका साथै व्यवस्थापकीय काम पनि आफैँले सम्हाल्नु परेकाले फुर्सद नमिलेको हो । अनि मीना पनि फुर्सद नै चाहानुहुन्न । केही फुर्सद निस्क्यो की केही नयाँ काम गरिहाल्ने उहाँको बानी छ ।

“चाडबाडमा आफन्त लिन आउँछन् तर बालबालिका जानै मान्दैनन् । केही गरी गइहाले पनि धेरै समय बस्नै मान्दैनन्, त्यसैले पनि ममा ऊर्जा थपेको छ”, उहाँले भन्नुभयो, । बालबालिकाले पनि आफ्नै घर आफ्नै आमा मानेकाले पनि मीनालाई मायाँले बाँधेको छ । सबै बालबालिका आफ्नै सन्तान भएकाले माया ममतासँगै जिम्मेवारी थपिएको उहाँको भनाइ थियो । चौँतीस बालबालिकालाई हेरचाह गर्न आफैँलाई गाह्रो भइरहेकाले काम गर्ने सहयोगी राख्न पाए सहज हुने मीनाले बताउनुभयो  । आएको सबै सहयोगले काम गर्ने सहयोगीलाई सेवा सुविधा दिन पर्याप्त नभएकाले सहयोगी हात बढ्दै गएमा काम गर्नका लागि  सहयोगी थप्न सकिने जानकारी गराउँदै उहाँले  थप संरचना निर्माण गर्न पाए थपिने  बालबालिकालाई पनि राख्न सकिने बताउनुभयो । – रासस



Categorized in व्यक्तित्व