STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मृत्यु दण्द दिए पनि हुन्छ: नवल खड्का

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख २७, बुधबार

अभिनेता नवल खड्का आफुले निर्माण गरेको चलचित्र ‘काँडेतार’ आफूले देशभक्तिका लागि बनाएको बताएका छन् । उनले आफ्नो चलचित्र देशको हित विपरीत भए आफूलाई मृत्यु दण्ड दिए पनि स्वीकार्य हुने धारणासमेत राखेका छन् ।

चलचित्र ‘काँडेतार’लाई चलचित्र सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको विषयमा  मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रम नवलले  चलचित्र निर्माणको समयको दुःख समेत सुनाए ।

‘मैले देशभक्तिको विषयमा बनाएको ‘काँडेतार’ पैसा दिन्छु भन्दापनि स्टारले खेल्न मानेनन्’, उनले भने ‘विदेशमा भए देश भक्तिपूर्ण फिल्म स्टारले सित्तैमा खेलि दिन्थे ।’ चलचित्र निर्माणको समय कलाकार पाउन गाह्रो भएको गुनासो गरेका नवलले स्क्रिप्टमा नेपाल प्रहरीलेसमेत दुःख दिएको बताए ।

‘ज्यानको बाजी थापेर देशभक्तिले ओतप्रोत फिल्म बनायौं, अहिले सेन्सरले दुःख दियो’, उनले थपे ‘मेरो चलचित्र राष्ट्रियताको पक्षमा छ । चलचित्र बिना काटछाँट रिलिज गर्न पाउनुपर्छ ।’

कार्यक्रममा पूर्वउपप्रधान तथा गृह मन्त्री डा. भीम रावलले फिल्म ‘काँडेतार’ले उठाएको विषयवस्तु देशको हितका खातिर भएकोले फिल्म प्रदर्शनमा रोक्न लगाउन नहुने बताए । उनले देशभक्तिपूर्ण कला, साहित्य तथा चलचित्र जे भएपनि राज्यले सबैका अगाडि राख्ने अवसर दिनुपर्ने राय व्यक्त गरे ।

‘काँडेतारका नायक तथा निर्माता नवल खड्काको एउटा भनाइले प्रत्येक देशभक्त नेपालीको आँखाबाट आँसु बग्छ । 

रावलले अहिलेको समयमा कुनै पनि देशमा दुई शक्ति हुन्छ, एउटा शक्ति सेना, प्रहरी, बन्दुक लगायत र अर्को नरम शक्ति साहित्य, कला, गीत, चलचित्र हुने बताए । उनले नरम शक्तिले देश चिनाउने समेत धारणा राखे ।

सिमामा काँडेतार लगाउनुपर्छ भन्ने जिम्मेवार निकायलाई आँखा देखाएको रावलको भनाई थियो । 

त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले चलचित्र ‘काँडेतार’ रिलिजका लागि राज्यले वातावरण बनाउनुपर्ने बताए । ‘हरेक नागरिकले आफूले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न पाउनु उसको पूर्ण अधिकार हो । देशमा सूचनाको हक छ’, शाहीले भने, ‘चलचित्र गीत संगीतमा रोक लाग्नु भनेको विकासमा रोक लाग्नु हो ।’

सामाजिक अभियन्ता प्रा.डा सुरेन्द्र केसीले पनि चलचित्र काँडेतार सार्वजनिक प्रदर्शनमा आउन पाउनुपर्नेमा जोड दिए ।

चलचित्र ‘काँडेतार’ केही अगाडि सेन्सरमा गएको थियो । फिल्मका केही संवाद र दृश्य काटछाँट गर्नुपर्ने भन्दै सेन्सरले प्रदर्शनमा रोक लगाएको छ । निर्माता निर्देशक नवल खड्का भने आफूले देशभक्तिपूर्ण चलचित्र बनाएको भन्दै बिना काटछाँट प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

सामना फिल्मस् प्रालिको निर्माण रहेको फिल्मले खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोध लगायतको विषय कथावस्तुका रूपमा उठाएको छ ।

माकिको राई र अन्जु केसी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । चलचित्रको सहनिर्मातामा रोमियन लिम्बू, बिमला कट्टेल, डा. अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् ।

फिल्ममा नवल खडका, गौरव पहारी, सुरविना कार्की ,रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरी, खेम नेपाली, राम विश्वास र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।

Categorized in सिनेमा