STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज साउने सङ्क्रान्ति देशभर मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १, आइतबार

काठमाडौं - प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए ।

परम्परागत रूपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ ।

यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ ।

पौराणिक विश्वास

वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर(घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ।

लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।

Categorized in राष्ट्रिय