STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज दुर्गा प्रसाई र महेश बस्नेत आमने सामने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ७, बिहिबार

काठमाडौँ - नेकपा एमालेका नेता महेश बस्नेत र विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच आन्दोलनको जुहारी चलेको छ । एकले अर्कोलाई सकेसम्म तेजोबोध गर्ने प्रपञ्चमा लाग्दा हिंसा भड्किने खतरा समेत उत्तिकै छ । 

आज मंसिर ७ गते उनीहरुले गर्ने भनेको जनप्रदर्शनमा काठमाडौं प्रशासनले लिएको निर्णय र यस्तो आन्दोलनको सुत्रपात किन र कसरी भयो त ?

राजसंस्था फर्काउने र नागरिक बचाउने नाममा अराजक गतिविधिलाई पछ्याउदै आएका दुर्गा प्रसाईँँले काठमाडौं केन्द्रित आन्दोलनको तयारी तीब्र पारेका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं आउनका लागि सम्पर्क व्यक्ति नै तोकेर प्रचार–प्रसार चलिरहेको छ । यस्तोमा सोहिदिन युवा संघमार्फत् काठमाडौं केन्द्रित आन्दोलन गर्ने भन्दै महेश बस्नेत पनि अघि सरेपछि काठमाडौंमा हिंसा भड्किने डर पनि उत्तिकै छ ।

केही दिनपहिले महेश बस्नेतको चरित्र हत्या हुने गरी आपत्तिजनक भिडियो सार्वजनिक भएपछि कतिपयले यसलाई दुर्गा प्रसाईँसँग जोडेर हेर्ने गरेका छन् । सार्वजनिक स्थलबाटै प्रसाईँले बस्नेतका यस्ता थुप्रै भिडियो रहेको उद्घोष गरिरहेका छन् ।

केही पहिलेसम्म एमालेको केन्द्रिय सदस्य रहेका प्रसाईँ बैंक तथा वित्तिय संस्थाको ब्याज नतिर्ने आन्दोलनमा सरिक थिए । बैक तथा केहि व्यवसायीक घराना केन्द्रित अभिव्यक्तिका कारण चर्चा कमाईरहेका उनले रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठको पद नै फुस्काइदिएका थिए ।

यसरी विवादमा आइरहने प्रसाईँले काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेपछि भने प्रशासनले चनाखो बन्दै एकै स्थानमा कार्यक्रम गर्न नदिने निर्णय नै गरेको छ । उसो तः एमाले नेता बस्नेत पनि विभिन्न अभिव्यक्तिका कारण चर्चामा आइरहने पात्र हुन् ।

प्रसाईँविरुद्ध महेशको एक्सन किन ?

पूर्वमन्त्री समेत रहेका बस्नेत एमाले नेता हुन् । केपी ओलीका नजिकका पात्रमध्येका एक उनी प्रसाईँविरुद्धको आन्दोलनमा उत्रिनका लागि सिंगो पार्टीको समर्थन जुटाउन कसरी सफल भए ? यो समेत अनौठो विषय छ ।

तर, प्रसाईँका पछिल्ला अभिव्यक्ति केपी ओली केन्द्रित छन् । कम्बोडियाको टेलिकममा लगानी गरेको गम्भीर आरोप लगाएर उनले ओलीलाई क्रोधित बनाएकै छन् । त्यतिमात्रै नभएर राजसंस्था फर्काउन आफूलाई खटाएको आक्षेप समेत लगाइरहेका छन् । एमाले निकट व्यवसायीदेखि नेताहरुको खरो आलोचना गर्दै आएका प्रसाईँ ओलीको नजरमा अपराधि नै देखिन्छन् । यहि छेकोमा आफ्नाविरुद्ध लागेका प्रसाईँलाई ठिक पार्ने उद्देश्य बस्नेतको छ । काठमाडौंमा कालो मोसो दलेको बस्नेत समूहमाथि प्रसाईँका समर्थकले झापामा ढुंगामुढा गरे । त्यसपछि बस्नेतको भनिएको आपत्तिजनक भिडियो पनि सार्वजनिक समेत भयो । यस्ता कुराले क्रुद्ध बस्नेत सिंगो पार्टीलाई प्रसाईँविरुद्ध उतार्ने योजनामा सफल भएको देखिन्छ ।

दुर्गा प्रसाईँ किन एमालेविरुद्ध ?

बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको भार थेगिनसक्नु भएपछि यसको विकल्पको खोजीमा रहेका प्रसाईँले एमालेमा राम्रै लगानी गरे । आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि एमालेको पछि कुदेका उनले सम्बन्धन नपाएपछि आक्रोश थप चरम बनाउदै लगे । एमाले र ओलीका कारण आफ्नो व्यवसाय चौपट्ट परेको ठानेका उनी त्यसपछि बैंकको सावाँ ब्याज नतिर्ने निश्कर्षमा पुगे । लघुवित्त र बैंकको ब्याजका कारण मर्कामा परेका जनताको साथ पाएका उनी अन्ततः अभियान्ता जस्तो बन्न पुगेपछि राजसंस्था, हिन्दु धर्मसहित अघि बढेका छन् । आवरणमा जे जस्ता विषय बोकेपनि उनी आफ्नो थाप्लोमा लागेको ऋणबाटै चिन्तित बनेको धेरैको विश्लेषण छ ।

दुई फरक पृष्ठभूमीबाट आन्दोलनको नाममा जुध्न खोजिरहेका बस्नेत र प्रसाईँले मौका कुरेर फाइदा लिन खोजेका छन् । काठमाडौंमा हुने भनिएको मंसिर ७ को प्रदर्शन एकै स्थानको छनोटले पनि उनीहरुको स्वार्थ प्रष्ट देखिन्छ । मुलुकमा ठूलो जनमतसहित संसदमा रहेको दल एमालेले यस्तो प्रवृत्तिलाई कसरी समर्थन गर्यो त्यो समेत अनौठो विषय छ । तर, यसमा काठमाडौं प्रशासनले एकै स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेपछि भने हिंसा भड्किने सम्भावना केहि कम भने पक्कै भएको छ । तर, उनीहरु शान्ति सुरक्षामा कति संयम हुन्छन भन्ने विषयले धेरै कुरा निर्धारण गर्नेछ ।

Categorized in राष्ट्रिय