STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आक्राेशित व्यापारीहरु भन्छन् : अब पसल खोल्न नदिए आन्दोलन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २०, मंगलबार

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन लम्बिँदै जाँदा व्यापारी वर्गले अब व्यापार गर्नुपर्ने माग गर्न थालेका छन् । काठमाडौं बौद्धका व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै मंगलबार प्रदर्शन गरे । अन्य व्यापारीहरुले पनि आन्दोलनको तयारी गरेका छन् । सरकारले समयमा नै कर तिर्न ताकेता गरिसकेको तर व्यापार गर्न भने नदिएको उनीहरुको गुनासो छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले तत्कालै पसल खोल्ने वातावरण नबनाए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । पसल व्यवसाय सञ्चालन नहुने हो भने मुलुकको अर्थतन्त्र नै धराशायी हुने चेतावनी व्यापारीहरुले दिएका छन् । सरकारले मंगलबार मात्रै कर तिर्न ताकेता गरेपछि व्यापारीहरु आक्रोशित भएका छन् । कमाउन चाहिँ नदिने, अनि कर तत्कालै तिर भनेर ताकेता गर्नु ठीक नभएको उनीहरुकोगुनासो छ । व्यवसायीहरुका विभिन्न संघ, संगठनहरुले पनि पसल सञ्चालन गर्न दिनु पर्ने आवाज उठाएका छन् । बौद्ध व्यापार संघ, नेपाल व्यापार संघ, बानेश्वर व्यवसायी संघ, कोटेश्वर व्यवसायी संघ, खिचापोखरी व्यापार संघ लगायतका आधा दर्जन बढी संघ संगठनहरुले पसल सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । बौद्ध व्यापार संघले पसल सञ्चालनका लागि सहजीकरण गरिदिन भन्दै काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । उता कोटेश्वर व्यवसायी संघले पनि महानगरलाई पसल सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्दै पत्राचार गरेको छ ।

कैलालीका व्यापारीको बजार खोल्ने चेतावनी

यसैगरी, सरकारले व्यापारीको समस्या सम्बोधन नगरेको भन्दै कैलालीका व्यापारीहरुले धनगढीमा बजार खोल्ने चेतावनी दिएका छन् । कैलाली उद्योग बाणिज्य संघले मंगलबार बिहान लकडाउनको औचित्य नदेखिएको भन्दै समय मिलाएर बजार खोल्ने तयारी गरिएको जनाएको छ । सरकार कर तिर्न ताकेता गरेसँगै र बैंकको व्याजको समस्या पनि यथावत रहेकाले व्यापार सुरु गर्न पाउनुपर्ने माग व्यापारीहरुले राखेका छन् । उद्योग वाणिज्य संघले जिल्ला प्रशसान कार्यालय कैलालीलाई व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ । प्रशासनले व्यवसाय सञ्चालनको अनुमति नदिए बुधबारदेखि आफ्नो व्यवसाय सञ्चालन गर्ने समेत संघले चेतावनी दिएको छ ।

सुर्खेतका बजारहरु खुल्ने

उता सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि नियमित रुपमा पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले मङ्गलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि सम्पूर्ण पसलहरु सञ्चालनमा ल्याउने निर्णय गरेका जानकारी गराएको हो । कोरोना रोकथामका लागि सरकारले लकडाउन लम्ब्याउनेबाहेक अन्य कुनै प्रभावकारी काम नगरेको भन्दै संघले यति लामो लकडाउन थेग्ने नसक्ने बताएको छ । अध्यक्ष धनबहादुर रावतले दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण व्यापार व्यवसाय धरापमा परेको तर सरकारले प्रस्तुत गरेको बजेटमार्फत कुनै सहुलियत प्याकेजको घोषणा नभएको भन्दै बाध्य भएर पसल सञ्चालन गर्ने निर्णय भएको बताए । शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण पसलहरु खोल्ने संघले जनाएको छ । फलफूल, तरकारी, डेरी, ग्याँस, पसलहरु भने बिहान ५ देखि ९ र साँझ ५ देखि ८ बजेसम्म सञ्चालनमा रहने संघले जनाएको छ ।
Categorized in बिजनेस