STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आईपीएल : दिल्ली क्वालिफायरमा प्रवेश

Janjati Khabar – एजेन्सी | २०७७ कार्तिक १८, मंगलबार

दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । 

दिल्लीको जितमा अजिन्क्या रहाने र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाने ६० रनमा आउट भए भने धवनले ५४ रन बनाए ।

यस्तै कप्तान श्रेयस अय्यरले ७, पृथ्वी शाले ९ रन जोडे भने मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने लगातार १४ औं खेलमा बेन्चमा सीमित भएका छन् । 

बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए भने वासिङ्गटन सुन्दर र मोहमद सिराजले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे । एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए ।

यस्तै शिवम दुवेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए भने कागिसो रबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।

दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बैंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो । 

बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ । बैंगलोर ४ वर्षपछि पहिलो पटक प्ले अफमा पुगेको हो । अब बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ ।

क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ ।

मुम्बईले जीत निकालेमा कोलकाता प्ले अफ पुग्ने छ । हैदराबादले जीत निकालेमा कोलकाता प्ले अफबाट बाहिरिनेछ ।

Categorized in खेलकुद