अल कायदाका सर्वाेच्च नेता अमेरिकी कारवाहीमा मारिए
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १७, मंगलबार
काठमाडौँ - अल कायदाका सर्वोच्च नेता अयमन अल जवाहिरी अमेरिकी कारबाहीमा मारिएका छन् । आइतबार अफगानिस्तानको राजधानी काबुलको एक घरमा लुकेर बसिरहेको अवस्थामा अमेरिकाले ड्रोनबाट मिसाइल प्रहार गरेर मारेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको मृत्यु भएको बताएका छन् । बाइडेनका अनुसार अलकायदाका नेता जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको हो ।
यसअघि २००१ सेप्टेम्बर ११ मा अमेरिकामाथि भयंकर आतंकवादी हमला गरेको अभियोगमा अमेरिकाले अलकायदाका तत्कालीन सर्वोच्च नेता ओसामा विन लादेनलाई सन् २०११ मा मारेको थियो । त्यसपछि नै जवाहिरीले उक्त संगठनको नेतृत्व सम्हालेका थिए । उक्त हमलाका योजनाकार लादेन र जवाहिरी नै रहेको बताइन्छ ।
अमेरिकाको गुप्तचर एजेन्सी सीआईएले गरेको आतंकवादविरोधी अभियानको क्रममा जवाहिरी मारिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । जवाहिरी काबुलको एक सुरक्षित घरको बाल्कोनीमा बासिरहेको अवस्थामा बाडेनको आदेशमै ड्रोनबाट उनलाई मिसाइल प्रहार गरेर मारिएको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय