अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार
संयुक्तराज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुबै मुलुकबीच व्यापार वार्ता बेइजिङमा बुधबार पुनः शुरु भएको छ ।
व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङमा हुनुहुन्छ । उहाँहरुलाई चिनियाँ प्रतिनिधिमण्डलका नेता एवं उपप्रधानमन्त्री लिऊ हेले स्वागत गर्नुभएको थियो ।
अमेरिकी प्रतिनिधिहरुले यसपटकको वार्ता निर्णायक हुन सक्ने बताएका छन् ।
दुवै देशका व्यापार प्रतिनिधिबीच वासिङ्टनमा गत शुक्रबार पनि वार्ता भएको थियो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले केही महत्वपूर्ण विषयमा सहमति हुन अझै बाँकी रहेको प्रतिक्रिया दिनुभएको थियो ।
अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिनुभएको छ ।
अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।
चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ ।
चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय