अमर साहित्यकार बाशु शशीकाे जन्म जयन्तीको अवसरमा स्रष्टाहरु सम्मानित
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र १४, शनिबार
अमर साहित्यकार बाशु शशीकाे नाममा स्थापित "वासु शशी स्मृति परिषद्ले बासु शशीकाे ९० औं जन्म जयन्तीको अवसरमा आयाेजित एक कार्यक्रममा साहित्यकार वसन्त चौधरीलाई “वासु शशी साहित्य पुरस्कार २०८२” , साहित्यकार जयदेव भट्टराईलाई “वासु शशी स्रष्टा पुरस्कार-२०८२” र साहित्यकार हरि मञ्जुश्रीलाई “कृष्ण-सरस्वती साहित्य पुरस्कार-२०८२” प्रदान गरेको छ। उक्त पुरस्कारको राशि रू. २५, ०००।- (पच्चीस हजार) र स्रष्टा पुरस्कार रू. २१, ०००।- रहेको छ।
विशिष्ट चलचित्रकर्मि यादव खरेल काे विशेष उपस्थिति र परिषद्का अध्यक्ष कालीप्रसाद रिजालकाे सभाअध्यक्षतामा सम्पन्न भएको साे कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ राेदन लगायतको उपस्थिति रहेको थियो ।
पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गीतकार यादव खरेलले वासु शशीसँगको सम्बन्धको स्मरण गरे । उनले वासु शशी नम्र मिजासका अभिमान नभएको व्यक्तिका रूपमा चित्रण गरे। गद्य पद्य दुबैमा उनका थुप्रै कृतिहरू भएको उल्लेख गर्दै उनले वासु शशीका कृतिहरू रि-प्रिन्ट गरी पुन:बजारमा ल्याउनुपर्ने बताए।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरुको व्यक्तित्व र योगदान बारे श्रीओम श्रेष्ठ रोदनले चर्चा गरेका थिए ।
परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखे ।
कार्यक्रमको सञ्चालन ठाकुर बेलबासेले गरे ।
उक्त पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ९० औं जन्मजयन्तीको अवसरमा समर्पण गरिएकाे कुरा परिषद्का सदस्य-सचिव प्रद्युम्न जोशीले बताए।
वासु शशी साहित्य पुरस्कारबाट यसअगि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभू घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, माेमिला, श्यामल, प्रतिसरा सायमि र विमल वैद्य पुरस्कृत भइसकेका छन्।
यसैगरी वासु शशी साहित्य सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहनहिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भाेजपुरे, किरण खरेल र मनबहादुर मुखिया सम्मानित भइसकेका छन् ।"
Categorized in साहित्य-कला

