
अफगानिस्तानमाथि न्युजिल्याण्डको जित, नेपाललाई फाइदा
Janjati Khabar – Janjati Khabar | २०८० माघ ९, मंगलबार

काठमाडौं- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्याण्डले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । लगातार दोस्रो जितले न्युजिल्याण्डले सुपर सिक्समा पुग्ने पहिलो टोली बनेको छ ।
जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले २८.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
न्युजिल्याण्डको जित कप्तान ओस्कर ज्याक्सनल सर्वाधिक २६ रनको योगदान दिए । अफगानिस्तानका घजानफरले ३, खलिल अहमद र अर्ब गुलले २–२ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २१.३ ओभरमा ९१ रनमा अल आउट भएको थियो । अफगानिस्तानका जाश्मिद जद्रानले सर्वाधिक २२ रन बनाए । न्युजिल्याण्डका म्याट रवेले सर्वाधिक ५ विकेट लिएका थिए ।
न्युजिल्याण्डको यो जितले नेपाललाई पनि फाइदा पुग्ने भएको छ । नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल सुपर सिक्समा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराए पर्याप्त हुनेछ । न्युजिल्याण्डसँग अफगानिस्तान पराजित भएपछि नेपालले अन्तिम खेलमा जित हात पारे नेट रनरेटको बिना झन्झटले सुपर सिक्समा पुग्ने समीकरण तयार भएको हो ।
अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग १८१ रनले पराजित भएको थियो । नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।
Categorized in खेलकुद