STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी

Janjati Khabar – Janjati Khabar | २०८० माघ ७, आइतबार

सुर्खेत-  १५ वर्ष अघि भएको हत्या घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट सिंहसहित छ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको खुकुरी प्रहार गरि हत्या भएको थियो । राजबहादुरको सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा हत्या भएको थियो ।

हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो । किटानी दर्ता भएका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको शाहीले जानकारी दिए । 

टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभास भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ । 

पञ्चाले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्। केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन् । 

‘१५ वर्ष अगाडि घटना कसरी घट्यो, किन घट्यो, कसको कारणले घट्यो भन्ने बारेमा न्यायिक र सत्य तथ्य छानबिन होस्। यसमा मेरो सहयोग रहनेछ। स्थानीय राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा दर्ता गरिएको विषय यो घटनाको सत्यता उजागर भएसँगै सार्वजनिक हुने नै छ,’ उनले भनेकी थिइन्, ‘राजनीतिक जीवन सुरु भएसँगै हरेक चरण षड्यन्त्रपूर्ण रूपमा कथाहरू तयार गर्ने र आरोपित गर्ने दुष्प्रयास नभएका होइनन्। यो घटना आरोपहरूको उत्कर्षको रूपमा रहेको बुझेको छु र यही अनुरूप सामना गर्न पनि तयार रहेको जानकारी गराउँछु।’ 

Categorized in राजनीति