STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

चित्रकलामार्फत ‘जात्राको नायक’ को स्मरण

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

–सञ्चिता घिमिरे रातको समयमा हुने जात्रामा एकजना व्यक्तिलाई चिराग (नेवारीमा चिलाग भनिन्छ) बोक्ने जिम्मेवारी दिइएको हुन्छ । त्यो व्यक्तिले विशेष खालको भाडामा बत्ती राखेर बोक्दै नगर घुमाउँछ । बत्ती बोक्दा उसले जात्रामा संलग्न अरुलाई उज्यालो दिएर बाटो देखाउँछ । बत्तीको प्रचलन, राखिने भाडा र तेल थप्नका लागि प्रयोग हुने भाडाको नेवारी संस्कृतिमा विशेष महत्व हुन्छ । सिनेमा वा नाटकमा पर्दा पछाडि बसेर काम गर्नेहरुको भूमिकाको बेवास्ता भएजस्तै बत्ती बोक्ने व्यक्तिको भूमिकाको जात्राको अवधिमा बेवास्ता गरिन्छ । अरुलाई बाटो देखाउने यी व्यक्तिलाई जात्रामा सहभागी अधिकांशले देख्दैनन्, नियालेर हेर्नेले मात्रै उनको शरीरको केही भाग देख्न सक्छन् । कलाकार अजय देशारको चित्रकला भित्रको सार हो यो । गत माघ २० देखि शुरु भएको एकल चित्रकला प्रदर्शनी आगामी ५ फागुनमा सकिँदैछ । पाटन सङ्ग्रहालय र योङ पिकासो संस्थाले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा देशारको संस्कृतिमा आधारित २० वटा चित्र राखिएको सङ्ग्रहालयले जनाएको छ । एक पटक आएका आगन्तुकलाई दोहोराएर आउने वातावरण बनाउन निश्चित समयका लागि यस्ता प्रदर्शनी गर्दै आएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्ग्रालयको नियमित प्रदर्शनीसँगै निश्चित समयका लागि गरिएको ९अस्थायी प्रदर्शनी० लाई पनि निरन्तरता दिने योजना छ ।” आफूले जात्राका समयमा उज्यालो देखाउने व्यक्तिलाई केन्द्रीत गरेर कोरेको चित्र प्रदर्शनीमा राखिएको कलाकार देशारले बताउनुभयो । ती व्यक्तिलाई ‘जात्राको नायक’ उपमा दिएर उनले बोकेको बत्तीको उज्यालोमार्फत जात्रा देखाउन खोजिएको छ । यी २० चित्र काठमाडौँ उपत्यकाका विभिन्न नगरका जात्रा र पर्वमा केन्द्रीत छन् । कतिपय जात्रा लोप हुनसक्ने देखिएकाले तीनको वास्तविकताको झलक चित्रमार्फत देखाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा जात्रा वा जात्राका केही प्रचलन हटेमा पनि त्यतिबेला यी कुराको प्रयोग हुन्थ्यो वा यसरी जात्रा मनाइन्थ्यो भन्ने नयाँ पिँढीले बुझ्न सक्नेछन् ।” चित्र पिच्छे तेल राख्नका लागि प्रयोग हुने भाँडा फरक÷फरक आकार प्रकारको रहेको देख्न सकिन्छ । कुनैमा चार पाटे त कुनैमा गोलो र कुनैमा लाम्चो आकारको भाँडा चित्रमा रहेको छ । त्यहाँ भएका फूलबुट्टा वा अरु बुट्टा त्यही बत्तीका माध्यमबाट दर्शकले देख्न सक्छन् । जात्राका कतिपय कुरा बदलिन थाले पनि परम्परागत जात्रालाई चित्रमार्फत देखाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार जात्रामा बालिने बत्तीमा पहिले पहिले तेल थप्नका लागि फलामको भाँडा प्रयोग हुन्थ्यो । अहिले ती भाँडा हराउँदै जाँदा पानी खाने बोतलमा तेल राख्ने गरिएको उहाँले बताउनुभयो । जात्राका समयमा पहिले परम्परागत पहिरन लगाउने गरिएकोमा विस्तारै आधुनिक कपडाको प्रयोग बढिरहेको छ । उहाँले भन्नुभयो, “साँच्चै जात्रामा हुनुपर्ने के हो भनेर बुझाउन पनि यो चित्रले सहयोग गर्ने आशा छ ।” कलाकार देशारले सबै चित्रमा बत्तीको प्रयोग फरक÷फरक रुपमा गर्नुभएको छ । कतिपय चित्रमा चिरागमा बत्ती बालिएको छ भने कतिपय चित्रमा कुनै एउटा कुनाबाट प्रकाश छिराएर त्यस ठाउँलाई उज्यालो बनाइएको छ । कुनै चित्रमा उज्यालो र अँध्यारोको मिश्रण देखाइएको छ भने कतै अँध्यारोमा एउटा सानो ठाउँबाट गएको प्रकाशले पार्ने परिवर्तनलाई देखाइएको छ । “जसरी अँध्यारो र उज्यालो सँगसँगै छन् त्यसरी नै सकारात्मक र नकारात्मक बिचार हामीभित्रै छ”, उहाँले भन्नुभयो,“एउटा सानो उज्यालोले अँध्यारो हटाए जस्तै सानो सकारात्मक कुराले हामीलाई ऊर्जा दिनसक्छ ।” स्वदेश र विदेशमा गरेर अहिलेसम्म आफ्नो आठ एकल र धेरै वटा संयुक्त प्रदर्शनी भइसकेको कलाकार देशारले बताउनुभयो । उहाँका अनुसार अहिले प्रदर्शनीमा राखिएका चित्र अनुसन्धानमा आधारित छन् । पाटन सङ्ग्रहालयमा भइरहेको प्रदर्शनी आउने आगन्तुक अरु ठाउँका प्रदर्शनीमा भन्दा फरक हुने उहाँको अनुभव छ । अधिकांश प्रदर्शनीमा चित्रकार वा चित्रकलामा रुचि राख्ने व्यक्ति भए पनि यहाँ सबै खालका आगन्तुक आइरहेका छन् । उहाँले भन्नुभयो, “नेपाली मात्रै होइन म्युजियम हेर्न आउने विदेशीले पनि चासोका साथ चित्र हेरिरहेका छन् ।” – रासस
Categorized in राष्ट्रिय