यस वर्ष कार्तिक २७ गतेदेखि कात्ति प्याखं शुरु हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २१, शुक्रबार
ललितपुर मंगलबजार स्थित कात्ति डबलीमा हरेक वर्ष प्रदर्शन गरिंदै आएको विश्व प्रशिद्ध कार्तिक नाच यस वर्ष आउँदो कार्तिक २७ गतेबाट सुरु हुने भएको कुरा कात्ति प्याखं संरक्षण समितिले जनाएको छ ।
यस वर्षको कात्ति प्याखं नाचको पहिलो दिन कार्तिक २७ गते शुक्रवार मंगलबजारस्थित कात्ति डबलीमा ‘भक्त सुरदास’ प्रदर्शन गरिनेछ ।
त्यसको भोलिपल्ट कार्तिक २८ गते शनिवार माधवानर लीला अन्तर्गत गोपिचन्द्रया बाखं (गोपिचन्द्रको कथा) र २९ गते आइतवार माधवानर लीला अन्तर्गत नै जुजु कामसेनया बाखं (राजा कामसेनको कथा) प्रदर्शन गरिने भएको छ ।
३० गते सोमवार माधवानर लीलामै देवी प्याखं र मंसीर १ गते माधवानर लीलाकै जुजु विक्रमादीत्यया बाखं (राजा विक्रमादीत्यको कथा) प्रदर्शन गरिनेछ ।
मंसीर २ गते बुधवार बाथः प्याखं च्वलय् खुदां दां खुदां र मंसीर ३ गते बिहिवार बाथः प्याखं कौला खिचा देखाइनेछ । बाथः प्याखं पनि कार्तिक नाचको निकै चर्चित प्रस्तुति मध्येमा पर्छ ।
मंसीर ४ गते शुक्रवार जल शयण (मधुकैटव बध, मंसीर ५ गते शनिवार वराह अवतार हिरण्याक्ष वध देखाइनेछ ।
कार्तिक नाचको सबैभन्दा चर्चित नाच नृसिंह अवतार (हिरण्यकश्यपु वध) मंसीर ५ गते शनिवारको दिन प्रदर्शन गरिने भएको छ ।
मंसीर ७ गते सोमवारका दिन वस्त्रहरण लीला देखाइनेछ भने मंसीर ८ गते मंगलबार दधि लीलासँगै यस वर्षको कार्तिक नाच समापन हुने छ ।
यी सबै प्रस्तुतिहरु हरेक दिन मंगलबजारको कार्तिक डबलीमा बेलुकीको सात बजेबाट सुरु हुने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।
कार्तिक नाच मल्लकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले नेपाल सम्वत ७६१ (वि.सं. १६९७) मा सुरु गर्न लगाएका थिए ।
३८६ वर्षको इतिहास बोकेको यो नाच सुरुवाती कालदेखि न आजसम्म हरेक वर्ष अटुट रुपमा निरन्तर चलिआएको छ ।
Categorized in उपत्यका

