'आमा’का चार ऐतिहासिक कलाकारको उपस्थितिमा ‘ओल्ड इज गोल्ड’ कार्यक्रम शुभारम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २३, शनिबार
नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’ का चार विशिष्ट कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको गरिमामय उपस्थितिमा चलचित्र विकास बोर्डको विशेष कार्यक्रम ‘OLD IS GOLD’ शुभारम्भ भएको छ।
कार्यक्रममा चारै जना कलाकारलाई माला लगाई स्वागत गरिएको थियो भने उहाँहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कार्यक्रमको सहजीकरण गर्दै चारै कलाकारसँग ‘आमा’ चलचित्र निर्माणताकाका अनुभव, तत्कालीन नेपाली चलचित्र क्षेत्रका स्मरण तथा ऐतिहासिक प्रसङ्गहरू दर्शकमाझ साझा गराउनुभयो।
त्यसपछि कलाकारहरूकै उपस्थितिमा नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शन गरिएको थियो।
कार्यक्रमप्रति दर्शकको उत्साहजनक सहभागिता रह्यो। हलका सिट भरिएपछि कतिपय दर्शकले उभिएरै चलचित्र हेर्नुभएको दृश्यले पुराना नेपाली चलचित्रप्रतिको प्रेम र सम्मानलाई थप उजागर गर्यो।
यस अवसरमा बोर्ड अध्यक्ष दिनेश डीसीले अबदेखि हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्रको चलचित्र हलमा विशेष प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ। उक्त विशेष प्रदर्शनबाट संकलित रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ।
नेपाली चलचित्रको इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने, पुराना चलचित्र तथा तिनका सर्जक–कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित ‘OLD IS GOLD’ कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।
Categorized in राष्ट्रिय

