रहेनन् कीर्तिपुरका ज्ञानमाला भजन सर्जक एवं बौद्ध उपासक जुलुम शाक्य
Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ माघ १९, सोमबार
कीर्तिपुर । पद्मकीर्ति महाविहार शाक्य सना गुथिका थकाली न्वकू कीर्तिपुर १० वडा चिथु विहारका जुलुम शाक्य ७२ वर्षको उमेरमा ने.सं. ११४६ सिल्लाथ्व चतुदर्शी २०८२ माघ १७ गते शनिबार राती ८ः३० बजे दिवंगत हुनुभएको छ । दिवंगत शाक्यको अन्तिमर संस्कार आइतबार कीर्तिपुरको दीखु घाटमा भएको हो ।
केही वर्ष अघिदेखि मुटु सम्बन्धी रोगले ग्रसित शाक्यको दुई हप्ता अघि मात्र धुलिखेल अस्पतालमा ‘ओपन हर्ट सर्जरी’ (अपरेशन) भएको थियो भने अपरेशन सफल भइसकेपछि डिस्चार्ज भई माघ १७ गते शनिबार दिउँसो करिब ५ बजे घर फर्कनु भएको थियो ।
घर फर्कनु भएको समय आफै हिड्डुल गर्नसक्ने, सबैसंग भलाकुसारी गर्नसक्ने जुलुम शाक्यको घर फर्केको करिब साढे २ घण्टा पछि अकस्मात् स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लगिएको थियो । तर, विडम्बना शाक्य शनिबार राती ८ः३० बजे रहेनन् ।
दिवंगत जुलुम शाक्यलाई कीर्तिपुर क्षेत्रमा धेरैजसोले गुरुबा भनी सम्बोधन गरिन्थ्यो । कीर्तिपुर क्षेत्रमा मात्र हैन, उपत्यकामा मात्र हैन, उपत्यका बाहिर पनि चीरपरिचित जागरुक श्रद्धावान बौद्ध उपासक हुनुहुन्थ्यो जुलुम शाक्य ।
धेरै समय पहिलेदेखि नं ज्ञानमाला भजन संगीतका एक गायक, संगीतकार एवं गीतकारको रुपमा आफ्नो पहिचान दिई ज्ञानमाला भजन संगीतका एक सर्जक श्रष्टा एवं धार्मिक अभियन्ता भई ज्ञानमाला संगीत विकासका निम्ति निरन्तर रुपमा पाईला चाल्दै आइरहनु भएका व्यक्तित्व हुनुहुन्थ्यो जुलुम शाक्य ।
कीर्तिपुर नगरकासाथै उपत्यकाका विभिन्न क्षेत्रमा ज्ञानमाला भजन सर्जक जुलुम शाक्यको मार्ग निर्देशनका साथै प्रशिक्षणमा थुप्रै उपासक उपासिकाहरुले ज्ञानमाला भजन प्रस्तुत गर्ने, बाजागाजा बजाउने शिप सिकी विभिन्न कार्यक्रममा सहभागी हुने र ज्ञानमाला भजनको माध्यमबाट थुप्रै बौद्ध जागरण विकासमा टेवा पु¥याउँदै आइरहेको छ ।
दिवंगत जुलुम शाक्यको प्रयासबाट आफैको अध्यक्षतामा कीर्तिपुर १० वडास्थित गुतपौ टोलमा ने.सं. ११२१ तिर समग्र ज्ञानमाला भजन खलः पलिस्था गरी ज्ञानमाला भजन संगीत फराकिलो बनाउने कार्य गर्नुभयो भने उहाँ शाक्यकै अध्यक्षतामा गुतपौ टोलमै वि.सं. २०५९ जेष्ठ १ गते त्रिरत्न कीर्ति विहार स्थापना भएको हो ।
दिवंगत जुलुम शाक्यकै प्रयासमा बुद्ध जन्मभूमि लुम्बिनीमा सप्ताहव्यापी, पाछिक दिवसीय पवित्र महापरित्राण पाठ गर्ने कार्यको आयोजना भएको थियो । प्रत्येक वर्ष भन्तेहरुलाई विहारमा वर्षावास गराउने महान कथिन चीवरदान उत्सव कार्यक्रमको पनि आयोजना दिवंगत जुलुम शाक्यकै प्रयासमा भएको थियो ।
ज्ञानमाला भजन संगीत सर्जक दिवंगत जुलुम शाक्य राष्ट्रिय ज्ञानमाला संघ नेपालका सल्लाहकार, मध्यमाञ्चल उपाध्यक्ष, कीर्तिपुर चन्द्रागिरी दक्षिणकाली क्षेत्रीय उपसमितिका संस्थापक संयोजक समेत भइसक्नु भएको छ भने राष्ट्रिय ज्ञानमाला संघ नेपालका एक सक्रिय शुभचिन्तक पनि हुनुहुन्छ ।
नेवाः समाजमा कोही व्यक्तिसंग भेट भयो भने आ–आफूमा ‘भगवान शरण’ भने चलन सदियौंदेखि नै रहेको तर यो ‘भगवान शरण’ भन्ने चलन हराइसकेको अवस्था थियो । सायद समग्र ज्ञानमाला भजन खलः स्थापनापछि जुलम शाक्यको प्रयासबाट नै फेरि ‘भगवान शरण’ भन्ने चलनले निरन्तरता पाएको पुराना उपासक उपासिकाहरुको भनाई रहेको छ ।
जुलुम शाक्यले आफू युवा अवस्थामा दबुलीमा हुने थुप्रै नाटकहरुमा निर्देशक एवं संगीतकार गीतकारको रुपमा आफ्नो भूमिका निभाउनु हुन्थ्यो । यस्तै विभिन्न स्थानमा गई ज्ञानमाला भजनसंगै संगीत प्रशिक्षण दिने कार्य पनि गर्नुहुन्थ्यो ।
जुलुम शाक्यबाट ज्ञान लिई हाल ज्ञानमाला संगीत एवं विभिन्न संगीत क्षेत्रमा पाईला चालिरहनु भएको थुप्रै सांगितिक व्यक्तित्वहरुले संगीत क्षेत्रलाई निरन्तरता दिइरहनु भएको छ ।
दिवंगत जुलुम शाक्यका तीन छोरा, दुई छोरी एवं जहान छन् ।
Categorized in व्यक्तित्व


