STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय उत्पादनको व्यापार घट्दो 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १, आइतबार

बागलुङ नगरपालिका–१२ अमलाचौरका टेकबहादुर चुधारले विगत डेढ दशकदेखि ठेका, ठेकीको व्यापार गर्दै आउनुभएको छ । 
आफैंले उत्पादन गरेको ठेका ठेकी विशेषगरी चैते दशैँका अवसर पारेर यहाँ लाग्ने मेलामा सबैभन्दा बढी बिक्री हुने गरेको उहाँले बताउनुभयो । तर यो वर्ष ठेकाको व्यापार निकै घटेको अनुभव उहाँको छ । “कृषि पेशा गर्न छोडेपछि गाई–भैँसी कम पाल्न थालेँ”, चुधारले भन्नुभयो, “घरमा वस्तुभाउ नभएपछि ठेका किन लग्थे र ।” 
उहाँका अनुसार मानेठेकीको भने राम्रो व्यापार छ । मानिसले ठूलो ठेके मोही पार्न लाने हुन् । मुही पार्न छाडे बजारमा सजाउन भए पनि मानेठेकी किनेको पाए । १० देखि १५ हजार मूल्य बराबरका ठेका र एक हजारदेखि एक हजार ५०० सम्म पर्ने ठेकी व्यापारका लागि ल्याएको चुधारले बताउनुभयो ।
चुधार जस्तै बागलुङ तथा छिमेकी जिल्लामा उत्पादन भएका स्थानीय वस्तुको व्यापार गर्न चैते दशैँ मेलामा आएको डेढ दर्जन व्यापारीले स्थानीय उत्पादनको व्यापार खस्केको बताएका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्यालले बाँस तथा नियाँलोको चुयाँबाट निर्माण गरिएको २०० डालो, डाली तथा नाङ्ग्ला बिक्रीका लागि ल्याएकामा जम्मा एक दर्जन मात्र बेचेको बताउनुभयो ।
उहाँले स्थानीय उत्पादन बिक्रीबाट घर जाने बाटो खर्चसमेत नउठ्ने प्रतिक्रिया दिनुभयो । “यस्तै बिक्री भयो भने अर्को वर्षबाट डाला नाङ्ला व्यापार गर्न यहाँ आउँदिन,” छन्त्यालले भन्नुभयो, “प्रयोगका लागिभन्दा पनि सजाउनका लागि मात्र डाला नाङ्ला खोज्दा मर्कामा परियो ।”
चैत २३ गतेदेखि सञ्चालित मेलामा स्थानीय उत्पादनको भन्दा आयातीत सामग्रीको व्यापार फस्टाएको व्यवसायीहरुले बताएका छन् । मेला भर्न आएका भक्तजनले स्थानीय उत्पादन हातहतियार, डाला नाङ्ला, ठेकाठेकीभन्दा कस्मेटिक, कपडा तथा खेलौना खरीद गरेर लैजाने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा चैते दशैँ मेला आयोजक मूल समितिका संयोजक राजु खड्काले बताउनुभयो ।
खड्काले स्थानीय उत्पादनलाई प्राथमिकताका आधारमा मेलामा स्टलहरु उपलब्ध गराएको बताउनुभयो । चैते दशैँ मेलामा अवलोकन गर्न तथा कालिका भगवतीको दर्शन गर्न आएका अधिकांशले प्रयोग गर्नका लागिभन्दा पनि घरमा सजाउनका लागि स्थानीय उत्पादनहरु खरीद गरेको बताएका छन् । अन्य स्थानीय उत्पादनभन्दा फलामबाट निर्मित हातहतियारको बिक्री भने राम्रो रहेको छ । फलामका कृषि औजार तथा घरेलु हातहतियारको बिक्री सन्तोषजनक रहेको पोखरा हरिचोकबाट व्यापारका लागि बागलुङको मेलामा आउनुभएको पदमबहादुर सुनुवारले बताउनुभयो । “पहिला जस्तो व्यापार त छैन, तैपनि सन्तोष गर्न सकिन्छ,” सुनुवारले भन्नुभयो । चैते दशैँ मेला भोलि अर्थात् वैशाख २ गते सकिँदैछ । 
Categorized in बिजनेस