STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्यको भाषासँग लसपस

Janjati Khabar – प्रा. नर्मदेश्वर प्रधान | २०७७ आश्विन २४, शनिबार

 The determinig characterstic of literary language is indeed figurality.  — Paul de Man

साहित्य पनि एक किसिमको सञ्चार नै हो, साहित्यकारले केहि लेख्छ, केहि भन्न खोज्छ पाठकहरुलाई । त्यसकारण साहित्य निर्माणका पछाडि लेखक र पाठकबीच केही न केही कुरा भन्ने, बोल्ने अभिप्रायः रहिरहन्छ । साहित्य मूलभूत रूपमा भाषिक संरचना भएकोले यस्मा प्रयोग गरिने सञ्चारका माध्यम भाषा नै हुन्छ । तर साहित्यमा प्रयोग हुने भाषालाई सामान्य कुराकानीको माध्यमको रुपमा मात्र हेरेर पुग्दैन, त्यहाँ हुने शब्द र वाक्यमा बाहिर देखिने अर्थभन्दा फरक, नदेखिने अदृश्य अर्थ सक्रिय रहेको हुन्छ । यही अदृश्य अर्थलाई नै साहित्यमा वक्रोक्ति वा व्यञ्जनार्थ भनिन्छ ।

साहित्य रचनालाई एक किसिमले सामान्य भाषालाई विचलनको बाटोमा रूपान्तरण (Transform)गर्ने प्रक्रिया भने पनि हुन्छ । 'ऊ मान्छे हवाइजहाज' भनेर एकजना कुद्नसक्ने मान्छेलाई लिए यहाँ हवाइजहाज ‘रूपक’ अलङ्कारको (Metaphor) रूपमा प्रस्तुत हुन्छ । अलङ्कारमा प्रस्तुत अर्थभन्दा अप्रस्तुत अर्थ प्रमुख हुन्छ । ‘हवाइजहाज’ शब्दको प्रयोग यहां शाब्दिक अर्थमा मात्र नभई ‘द्रुतगति’को प्रतीकमा रूपान्तरित हुनगएको छ । यसरी साहित्यमा अर्थ विचलनको (Deviation) ठूलो भूमिका हुन्छ ।

साहित्य भाषा भनेको मूलभूतरूपमै आलङ्कारिक (Figurative) हुन्छ । आलङ्कारिक भाषाको रूप च्याप्टोरुपमा (Flat) नभई विभिन्न तह भएको (multilayered) हुन्छ । त्यसकारण  साहित्यीक रचनामा वास्तविक अर्थ सिधै नरहन सक्छ, बरू लुकिरहेको हुनसक्छ । त्यसलाई विश्लेषण गरी हेर्नुपर्ने हुनसक्छ, केलाउनुपर्ने हुनसक्छ । कवि दुर्गालाल श्रेष्ठ कविताका एक हरफ यहां प्रस्तुत छ,

'सन्ध्याः ! अय् जिमि अति हे योम्ह राजकुमारी प्यां वा’ 

(हे सन्ध्या ! मेरी प्रिय राजकुमारी, तिमी बाहिर आउनू)

यहां ‘सन्ध्या’लाई सम्बोधन भइरहको छ सिधै । यसो हेर्दा यो कविता प्रकृतिवादी कविता जस्तो देखिन्छ । कवितामा देखिएका सोझो अर्थ यही हो । तर यहाँ ‘सन्ध्या’ शब्दले ओझल हुनलागेको अर्थलाई बुझ्न हामी ‘सन्ध्या’ शब्दको शाब्दिक घेराबाट बाहिरिनु पर्दछ । जबसम्म ‘सन्ध्या’ शब्दको अर्थमा मात्र हामी अलमलिन्छौ तबसम्म कविताको गुह्य अर्थको आभास अनुभव गर्न सकिँदैन । हो, यस तर्कमा विरोधाभास (Paradox) देखिन्छ । ‘सन्ध्या’ शब्दको वास्तविक अर्थ बुझ्न ‘सन्ध्या’ शब्दबाट बाहिरिनुपर्दछ भन्ने भनाई जरूर पनि विसंगत तर्क जस्तो देखिन्छ । तर यथार्थमा यस्ता विरोधाभास र विसंगतीले नै कवितामा कविता भेट्टाउने कार्य गर्दछ । क्लिएन्थ ब्रुक्सले (Cleanth Brooks) कविताको भाषा स्वय‌ं नै विरोधाभासपूर्ण (Paradoxial) हुन्छ भन्छन् । निर्जीवलाई मानवीकरण गरेर देखाउने, निर्जीव वस्तुलाई सजीव विशेषण प्रयोग गर्ने (Transferred Epithet) यस्ता विसंगतिहरु कवितामा पाइन्छ ।

माथि उल्लेख गरिसकेको छु साहित्य भनेकै यस्ता विरोधाभास, विसंगतिले निर्माण हुने गर्दछ । साहित्यमा शब्दको प्रयोग च्याप्टो अर्थमा मात्र हुँदैन । च्याप्टो (Flat) वस्तुको गहराई (Depth) हुँदैन । त्यो बाहिरबाट कति, के देखिन्छ, त्यतिमात्र सीमित हुन्छ । यसमा ‘भित्र’ भनेको नै हुँदैन । तर साहित्य शब्दको गहिराई (Depth) हुन्छ, बाहिरको शब्द मात्र बहाना हुन्छ, भित्र प्रवेश गर्नको निमित्त । साहित्यिक यथार्थ त भित्र नै हुन्छ । प्रश्न आउँछ कति भित्र ? 

शब्दको व्यञ्जनार्थ (Echo-meaning) भनेको शब्दको त्यस्तो – गहिराई (-Depth meaning) हो जस्को हद र अन्त नै हुँदैन । त्यहाँ जति भित्र गयो त्यति नै भित्र जान सकिन्छ । प्रतीकवादीहरु भन्छन् 'शब्दको अर्थमा सीमा भेटियो कि त्यहाँ साहित्यको अन्त हुन्छ, त्यहाँ कविताको अवसान हुन्छ ।' त्यसकारण कविताका शब्दको अर्थ जहिले पनि यति रहस्यमय भएर अघि जानुपर्दछ जसकाे कारणले पाठकको त्यहाँ अर्थ खोजको अन्त कहिल्यै हुँदैन, जहिले पनि त्यो जिज्ञासाको विषय भइरहन्छ । साहित्यमा यसरी अर्थ निश्चित (Fixed) हुँदैन, त्यहाँ त्यो प्रवाह (flux) भई बगिरहन्छ । प्रतीकवादीहरुले त कवितामा अर्थलाई सदा रहस्य सम्झी अँध्यारोमा छामछुम गरी खेल्ने खेलसरह अपनाउँछन् । शब्दका अदृश्य अर्थ पछि पछि जाने तिनीहरुको उद्देश्य नै बनिदिन्छ ।

अर्थ दराजमा रहेको वस्तु झैं चाहिएमा चट्ट लिनसक्ने गरी तयारी अवस्थामा हुँदैन । यस्तो तयारी अर्थ कुराकानीमा मात्र सम्भव हुनसक्छ । तर साहित्यमा शब्दको स्वरूप बहुआयामिक (Multidimensional) हुनेभएकाले यस्को वास्तविक अर्थ वा रूप यही हो भनी तयारी र निश्चित हुँदैन । साहित्य सामान्य कुराकानीको भाषाझैं  एकअर्थीय मात्र नभई बहुअर्थीय हुन्छ ।

यहाँनिर विलियम इम्सन (William Empson) को Seven types of ambiguity लाई सम्झिन सक्छौं । इम्सनको मान्यताअनुसार साहित्यिक भाषा स्वभावतः बहुअर्थीय (ambiguious) हुन्छ । बहुअर्थीय स्वभाव हुने भएकोले नै साहित्यिक रचनामा पाठकले अनेक वैकल्पिक प्रतिक्रिया (alternative reactions) उजगार गर्न सक्छन् । कवि दुर्गालाल श्रेष्ठको ‘सन्ध्या’ कविताको माथिकाे कवितांशमा ‘सन्ध्या’ शब्द कुनै एक अर्थमा मात्र सीमित छैन । एक अर्थमा मात्र प्रयोग हुने हो भने यस्को अर्थ ‘सन्ध्या’ प्रहरको मात्र अर्थ हुन्छ । तर यहाँ ‘सन्ध्या’को मानवीकरण भएको छ । जीवित प्राणी एक नारीको रूपमा प्रस्तुत भएको छ, प्रेमको प्रसंग पनि यहाँ आएको छ । त्यो पनि हो, यो पनि हो भन्न सकिने अनेक स्थिति सृजना हुन्छ – कविता पढ्दापढ्दै ।

यसरी कवितामा पाठकहरुलाई  अलमलमा पारिदिने अनेक वैकल्पिक अर्थहरु ध्वनित भइरहन्छ । कविताले आफ्नो अर्थ उत्पादन बन्द प्रणाली (closed system) अन्तर्गत गर्दैन । कुराकानी वा विज्ञानमा प्रयोग गरिने भाषाले अर्थलाई खुला मैदानमा (open field) छोड्दैन, वरू त्यसलाई निश्चित बाटोमा (track) अघि बढाउँछ । भाषालाई खुला मैदानमा छोडिदियो भने त्यो अनियन्त्रित हुन्छ, त्यस्ले कुनै बाटो (track) समाउँदैन । यस्तो अनियन्त्रित भाषाको अर्थले कुराकानी र वैज्ञानिक भाषामा सञ्चारको संकट ल्याइदिन्छ । विज्ञानको भाषा बहुअर्थीय हुनुहुँदैन । त्यो वस्तुगत, स्पष्ट र सटिक हुनुपर्दछ । त्यसकारण विज्ञानको भाषामा अर्थको स्वभाव खुल्ला रुपको (open ended) हुनुहुँदैन । तर साहित्यमा त्यस्तो हुँदैन । अर्थलाई यहाँ निश्चित बाटोमा थुनिदियो भने त्यस्को सास बन्द भई त्यो शिथिल हुनपुग्छ । विज्ञान र साहित्यमा पाउने फरक यही हो । वैज्ञानिक भाषाले साहित्य निर्माण गर्दा त्यस्ले  साहित्यमा जीवन्तता ल्याउँदैन । त्यो तथ्यहरुको शुष्क दस्ताबेज मात्र हुनजान्छ । साहित्यको उद्देश्य तथ्य उजगार गर्नु नै हो । तर तथ्य उजगार गर्ने सन्दर्भमा कला, सौन्दर्य पक्षमा पनि  साहित्यकार त्यतिकै सचेत हुन्छ । उपमा, रूपक, बिम्ब, प्रतीक, विरोधाभास, अनेकार्थ यी सबै जीवनलाई उजगार गर्ने कलात्मक रणनीति हुन् । जीवनलाई सौन्दर्यानुभूति गर्ने माध्यम हो – साहित्य । कविताका शब्दभित्र विरोधाभास हुन्छन् ।तिनीहरु बहुअर्थी हुन्छन् । आजका विसंघटनवादीहरुमा (Deconstructionist) यो मान्यता पाइन्छ । यस्लाई (polys´y)  भनिन्छ । आज विसंघटनवादीहरुले भन्छन् भाषा मूलरूपमा आलङ्कारिक हुन्छ, बहुअर्थीय हुन्छ, एकअर्थीय भाषा भनेको नै हुँदैन । विसंघटनवादीहरुले साहित्यमा बहुअर्थ हुन्छ भन्नुको अर्थ एकभन्दा बढी दुई, चार अर्थ हुन्छ भनेको मात्र होइन, तिनीहरुको बहुअर्थमा अनन्त अर्थ हुन्छ । 'अनन्त अर्थ'को अर्को अर्थ ‘अनिश्चित अर्थ' हुन्छ जुन फेरि अर्थ शुन्यता हुन्छ । विसंघटनवादीहरुले कुनै पनि साहित्यिक रचनाको अर्थ ग्रहण क्रियालाई अन्तहीन (endless) यात्रा भन्छ । यो मृगतृष्णा (Mirage) समान हुन्छ । विसंघटनवादले भन्छ पाठकहरुले साहित्य कृति पढेर अर्थ ग्रहणको नाममा कृतिसत मुक्तक्रिडा (free play) गर्छ । यस्तो मुक्तक्रिडाले पाठकहरुलाई मुक्त अर्थको अनुभूति दिन्छ । कृति रचनासित स्वतन्त्ररुपमा लसपस गरी पाठकहरुले अर्थ ग्रहणको नाममा प्रतिक्षण यौन सुखानुभूति (Erotic Pleasure) लिइरहन्छन्, विसंघटनवादीहरु भन्छन् ।

Categorized in साहित्य-कला