relans
ni new 83
nib 2082 5

सारङ्गी सङ्कटमा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

 कपिलवस्तुको लक्ष्मणघाटस्थित गन्धर्व टोलमा बस्दै आएका झण्डै ३५ गन्धर्व परिवारमध्ये केहीले परम्परा धान्न मात्र सारङ्गी बजाउने गरेका छन् । पहिले पहिले सडक, चोक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका उनीहरुको पेशा अहिले सङ्कटमा परेको छ । गन्धर्व जातिका युवालाई गाउंँमा तालीम दिएर  पेशा हराउन नदिन पटक पटक आग्रह गरिए पनि कसैको यसप्रति रुचि छैन ।
राष्ट्रिय बाजाका रुपमा रहेको मानिएको सारङ्गीको महत्वमा कमी आएकाले यसको संरक्षण गर्न गन्र्धव जातिबाटै अभियानका रुपमा लागेर थप विकास र प्रचारका लागि राज्यलाई दवाव दिनुपर्ने स्थानीय बासिन्दाको जोड छ । सारङ्गी बजाएर गीत गाउँंदै हिंँड्दा घरपरिवार चलाउन नसकेपछि यहाँका धेरै गन्धर्वले अहिले सारङ्गी थन्क्याएर होटल मजदूरी, खेती किसानी र ज्याला मजदूरी गर्न थालेका छन् । 
कुनै बेला दुःखपीरका गीत गाउँदै हिँड्ने गन्धर्वहरु  हिजोआज जहाँतहीँ भेटिँदैनन् । पछिल्लो समय सारङ्गी बजाउने पेशा लोप हँुदै जान थालेको छ । युवाले सारङ्गी बजाउने पेशा नअँगाल्दा अहिले सारङ्गी बजाउने पेशा लोप हुन थालेको हो । वाणगङ्गा नगरपालिकाभित्र ६० घरधुरी गन्धर्व जातिका मानिस छन्  । धेरै गन्धर्व विदेश पलायन भएका छन् भने धेरै आफ्नो छुट्टै व्यवसाय गर्नमा व्यस्त छन् ।
तेह्र वर्षदेखि सारङ्गी बजाउने पेशामा लाग्नुभएका विनोद  गन्धर्वले अहिले यही पेशा सङ्कटमा पर्दा समस्या भएको बताउनुभयो । सारङ्गी बजाउन छाडेर होटल व्यवसाय गर्न थाल्नुभएका विनोदले सो पेशाले आफ्नो रोजीरोटी चलाउन समस्या भएपछि  पेशा छाड्न बाध्य भएको गुनासो पोख्नुभयो । “सारङ्गी बजाउनेलाई समाजले पनि घृणा गर्ने भएकाले सारङ्गी बजाउनेको सङ्ख्या घट्दै गएको हो” उहाँले भन्नुभयो  । गन्धर्व समुदायले पनि यसलाई वास्ता गर्न छाड्दा  बाजा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “ कसै कसैले त सुन्न मन पराउँछन्  र अलि पैसा  दिन्छन्  तर कसै कसैले भने पटक्कै मन पराउँदैनन् ।  कतिले त दैलैबाट १०, २० रुपैयाँ पैसा दिएर गीतै नसुनी धपाउने गरेको छ”, उहाँले पीडा सुनाउनुभयो ।  आफूले भने  पेशाको संरक्षणका लागि सारङ्गी बजाउन हिँड्ने गरेको  उहाँले बताउनुभयो । 
धर्म र कर्म पाप र पुण्य
यति भए जान्छ सङ्गिनी आ हा राम ।।।
  यस्तै गीत गाउँदै हिँड्नुभएका वीरबहादुर गन्धर्वले १२ जनाको परिवार  सारङ्गी बजाएर पाल्दै आएको बताउनुभयो । गीतमार्फत  आफ्नो पीडा सुनाउँदै वीरबहादुर सारङ्गी भिरेर गाउँदै हिँड्दा अपमानको पीडा खेप्न बाध्य भए पनि  रोजीरोटी चलाउन सारङ्गी रेटेर हिँड्ने गरेको बताउनुहुन्छ । तेह्र वर्षको उमेरदेखि सारङ्गी बजाउँदै आउनुभएका उहाँले यस पेशाको संरक्षणका लागि भए पनि आफू गाउँगाउँमा पुगेर गीत गाउने गरेको सुनाउनुभयो ।  पहिला सारङ्गी बजाउन मान्छेले बोलाउने गर्थे तर अहिले आफैँ गाउँगाउँमा जाँदा पनि सारङ्गीलाई त्यति वास्ता नदिएको उहाँकोे गुनासो छ । 
आफ्नो पेशा र संस्कृति सङ्कटमा पर्दै गएपछि आफूहरु १३ वर्षको उमेरदेखि  सारङ्गी संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नेपालका विभिन्न जिल्लामा हिँडेको उहाँको भनाइ छ  । “पहिले पहिले सारङ्गी बजाउनेलाई सम्मान हुन्थ्यो तर अहिले त्यस्तो छैन, दिनभर सारङ्गी बजाउँदा ४००– ५०० मुश्किलले  कमाइ हुन्छ,  आजभोलि त्यतिले परिवार पाल्न निकै समस्या परेकाले यस पेशाबाट पलायन हुनुपरेको छ”, गन्धर्वहरुको भनाइ छ ।
अहिलेका युवकयुवती सारङ्गी बजाउन लाज मान्ने र पेशाप्रति लगाव नदेखिएकाले पनि आफूहरुको पेशा लोप हुन लागेको चिन्ता गन्धर्व समुदायका अगुवा रामबहादुर गन्धर्वकोे व्यक्त गर्नुहुन्छ ।  विशेषगरी समाजमा हुने जातीय विभेद तथा हत्या, हिंसालगायत समसामायिक विषयवस्तुमा आधारित रहेर गन्धर्व जातिले गीतको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्थे । नेपालमा संस्कृति झल्कने सारङ्गीकोे संरक्षण गर्न अहिले सबै क्षेत्रको भूमिका खड्किएको छ । यसको संरक्षणमा लाग्न सबैको जाँगर चाहिएको रामबहादुरले बताउनुभयो  ।
वाणगङ्गा नगरपालिकाको लक्ष्मणघाटमा ५० घर गन्धर्व जातिको बसोबास छ ।  अहिले चार पाँच जनाले मात्रै  कहिलेकाहीँ सारङ्गी बजाउँछन् ।  गन्धर्व जातिको सारङ्गी बजाउने पेशा संरक्षण गर्न राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने त्यही टोलका अगुवाहरु बताउँछन् ।  सारङ्गीको संरक्षणका लागि सारङ्गी सङ्ग्रहालय निर्माण गर्नुपर्ने सुझाव उनीहरुको छ ।  धेरैले पेशा परिवर्तन गरे पनि कतिपय गन्धर्वको मनले पुख्र्यौली पेशालाई चटक्कै माया मार्न भने अझै सकेको छैन । उनीहरु नवपुस्तालाई सारङ्गी बाजा सिकाउँदै गीत गाउदै  हिँडेका छन् । ९तस्वीर छ०
Categorized in सिनेमा
ppp 2