STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रम ज्यादा, ज्याला कम

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २४, शुक्रबार

धु्रवसागर शर्मा आज एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । शहरबजारमा विभिन्न नाराका प्लेकार्ड बोकेका महिला अधिकारकर्मीको ¥यालीले बजार परिक्रमाका साथै आमसभा गरिहेका छन् । ¥याली पछि आयोजित आमसभामा सहभागी वक्ताले श्रमिक महिलाको हक र अधिकारका विषयमा भाषण गर्ने र अरुले सुनेर दिन बिताउने गरेपनि म्याग्दीको ग्रामीण भेगका महिलामा दशकौँ अघिदेखिको असमानता अहिले पनि यथावत् छ । दिनभरि खेतबारी, नदी खोला, भवन वा भौतिक निर्माण भइरहेका ठाउँमा ज्याला मजदुरी गरेर गुजारा गर्ने महिलाले पुरुषले भन्दाबढी श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् । पुरुषसँगै दिनभर काममा घोटिने श्रमिक महिला ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य छन् । कृषि क्षेत्रमा काम गर्ने मात्र होइन औधोगिक क्षेत्रमा काम गर्ने महिला मजदुरको अवस्था पनि उस्तै छ । सदरमुकाम बेनीस्थित एक सरकारी भवन निर्माणस्थलमा मजदुरी गर्दै आउनुभएकी ३२ वर्षीया शोभा विक पुरुषको तुलनामा आफूहरूले आधा ज्याला पाउने गरेको बताउनुहुन्छ । “मैले मसला बनाउने, ढुङ्गा र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु”, उहाँ भन्नुहुन्छ, “पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर ज्याला पाउँदा पुरुष कामदारले दैनिक रु एक हजार पाउँछन् भने मैले ५०० मा चित्त बुझाउनुपर्छ ।” विकको जस्तै अवस्था जिल्लाका धेरै महिला श्रमिकको छ। उनीहरु पुरुषको तुलनामा बढी काम गर्नुपरेको जिकिर गर्छन् । “सँगै काम गर्ने पुरुष कामदारले चुरोट खाने, मोबाइलमा लामो समयसम्म कुरा गरेर समय कटाउने र कोही मान्छे देखे कुराकानीसमेत गर्ने गर्छन्” विकसँगै काम गर्ने जयन्ती मिजारले भन्नुभयो, “हामीले खुरुखुरु काम गछौँ र लगाएको काममा पुरै ध्यान दिन्छौँ तर ज्यालामा भने ठगिन्छौँ ।” कृषि क्षेत्रमा काम गर्ने महिलाको अवस्था पनि त्यस्तै छ । लाहुरेको जिल्ला भनेर चिनिने यहाँको कृषि महिला श्रमिकले नै धान्दै आएका छन् । कृषिको ७५ प्रतिशत काम महिलाले नै गर्दै आएका तर ती महिलाले पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । शुक्रबार ९आज० बिहान बेनी नगरपालिका–२ बगरफाँटमा खेत खनिरहेकी मिठु परियारले दिनभरि खेत खनेको जम्मा रु ४०० पाउने बताउनुभयो । पुरुषले सोही काम गरेको रु ८०० ज्याला बुझ्दा महिला कामदारले भने त्यसको ठीक आधा मात्र ज्याला पाउने उहाँको गुनासो छ । कृषि र औधोगिक क्षेत्रमा काम गर्ने महिलामात्रै होइन, शिक्षण संस्थामा काम गर्ने चेननशील महिलासमेत आफूले प्राप्त गर्ने पारिश्रमिकमा ठगिने गरेको गुनासो गरेका छन् । जिल्लाका निजी तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षिका र कर्मचारीमात्रै होइन सरकारी तथा सामुदायिक विद्यालयको बालकक्षामा पढाउने शिक्षिका र कर्मचारी पनि पुरुष शिक्षक वा कर्मचारीको तुलनामा आधा कम पारिश्रमिक लिएर काम गर्न बाध्य भएको चर्चा छ । पुरुष कामदारले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिनु परेको महिला श्रमिकको भनाइसँग जिल्लाका महिला अधिकारकर्मी पनि सहमत छन् । बेलाबेलामा हुने महिला अधिकार र श्रमबारे भाषण गरेपनि श्रमिक महिलाको अधिकारका बारेमा महिला अधिकारकर्मीले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाले बताएका छन् । महिला अधिकारकर्मी, मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनी विभिन्न राजनीतिक दलका भातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाको ज्याला वृद्धि हुन नसक्नु दुखद पक्ष रहेको महिला अधिकारकर्मीको भनाइ छ । महिला अधिकारकर्मी हिरा पौडेलका अनुसार कानूनमा नै ‘समान कामका लागि समान ज्यालाको व्यवस्था गरिएकाले त्यसविरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेलाई कडा कारवाही गरिनुपर्ने बताउनुहुन्छ । कानूनको कार्यान्वयन गराउने निकाय नै श्रमिक महिलाको श्रमप्रति उदासिन रहेकाले यो अवस्था आएको उहाँको भनाइ छ । महिलामा पनि हामी पुरुषको तुलनामा कमजोर छौँ भन्ने परम्परागत सोचाइ र पुरुषमा महिलाभन्दा धेरै काम हामी गर्छौँ भन्ने अहमका कारण पारिश्रमिक ९ज्याला० मा एकरुपता हुननसकेको अधिकारकर्मी पौडेलको भनाइ छ । कृषि र औधोगिक क्षेत्रमा मात्रै होइन, जलविद्युत् र सडक निर्माणजस्ता जोखिमपूर्ण काममासमेत महिला श्रमिकले काम गर्दै आएका छन् । यस्ता जोखिमयुक्त क्षेत्रमा काम गर्ने मजदुरको सुरक्षा र हितका लागि रोजगारदाता कम्पनी, ठेकेदार वा मालिकले कुनै पनि सहुलियत नदिएको सम्बन्धित क्षेत्रमा काम गर्ने महिला श्रमिकले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउन नसकेको र शारीरिक तथा प्राकृतिकरुपमा पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानिसकता नहटेकाले ज्यालामा एकरुपता हुन नसकेको हो भन्नु्हुन्छ ।मरीमरी काम गर्दा पनि महिला श्रमिकको श्रमशोषण हुनाका साथै महिला हिंसा पनि बढिरहेको जिल्लाका बुद्धिजीवीको भनाइ छ ।
Categorized in राष्ट्रिय