STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यावसायिक एभोकाडा खेती

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडाको व्यावसायिक खेती शुरु भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरु गरेका हुन् ।
 किसानलाई गाउँपालिकाले एभोकाडाका एक हजार बिरुवा निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तरकारी तथा फलफूल खेतीबाट छोटो समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले तालीम अनुसार व्यावसायिक खेतीमा सक्रिय हुनेलाई अनुदान समेत दिइने बताउनुभयो ।
“यहाँको हावापानीमा एभोकाडाखेती सम्भव छ,फलफुल खेतीमा गाउँपालिकालाई पकेटक्षेत्र बनाउने लक्ष्य छ”, रोकाले भन्नुभयो । गाउँपालिकाभित्रका सबै बस्तीको माटो परीक्षण गरी अनुकूल अनुसारका फलफूल खेती गर्नका लागि किसानलाई गाउँपालिकाले अनुरोध गरेको छ ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले समेत प्राथमिकता दिएकाले आगामी वर्ष तालीमसहित अनुदानमा बिरुवा वितरण गरिने अध्यक्ष रोकाले बताउनुभयो । विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताउनुभयो ।
 उहाँले केही जिल्लामा व्यावसायिक खेती शुरु भएको पनि जानकारी दिनुभयो । “उष्ण र समशितोष्ण हावापानीमा एभोकाडाको खेती गर्न सकिन्छ, बिक्री गर्न बजारमा जानै पदैन्, घरदैलोमै खोसाखोस हुन्छ”, एभोकाडाखेती सम्बन्धी तालीमका प्रशिक्षक समेत रहनुभएका  राईले भन्नुभयो । 
समुद्री सतहबाट दुई हजार ५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको चार देखि ६ वर्षभित्रै उत्पादन दिने भएकाले पनि पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन मञ्जुश्री नर्सरी हाउसले गाउँपालिकासँग सहकार्य गरेको अध्यक्ष रोकाले जानकारी दिनुभयो । 
नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको राईले बताउनुभयो । यसले फल दिन थालेपछि ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने उहाँको भनाइ थियो । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडाको माग र उपभोक्ता दिनदिनै बढ्दै गएका छन् । 
Categorized in बिजनेस