STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न, नेपालभाषा विषयमा सर्वाेत्कृष्ट हुने विद्यार्थी सम्मानित

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १३, बिहिबार

काठमाडाैं – युवा साहित्यकारलाई नेपालभाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा आज बुधबार आयोजित विराट नेपालभाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपालभाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिएका थिए ।

सम्मेलनको उद्घाटन गर्दै गुठीका पूर्व अध्यक्ष गोविन्दमान श्रेष्ठले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै गणतन्त्र स्थापना भइसक्दा पनि भाषा साहित्यको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले भाषाका माध्यमबाट सामाजिक चेतनासमेत जगाउन सकिने बताउँदै भाषा साहित्यको जगेर्नाका लागि नयाँ पुस्ताको आगमन आवश्यक भएको बताउनुभयो ।

गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले नेपालभाषा साहित्यको उत्थान र नयाँ पुस्तालाई साहित्यमा अभिरुचि जगाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो । 

नेपालभाषा साहित्यको विकास, संरक्षण र सम्बर्द्धनको उद्देश्यले स्थापित गुठीको सम्मेलनमा विभिन्न साहित्यकारले आआफ्नो रचना वाचन गरेका थिए ।

सम्मेलनमा नेपालभाषाका साहित्यकार रेणु श्रेष्ठ, सौरभ शाक्य, न्हुँछेभक्त कवाँ, शरद कसाः, नारायण बज्राचार्य, राजभाइ जकःमि, वसन्त नकर्मी, हरिगोविन्द, गोविन्दमान श्रेष्ठलगायतले नेपालभाषामा कविता वाचन गर्नुभएको थियो । त्यसैगरी तेजकृष्ण श्रेष्ठ, नरेन्द्रप्रसाद जोशी र बाबुकाजी सुवालले गजल र सुरेश प्रधान र धर्मराज राजकर्णिकारले हाइकु वाचन  गर्नुभएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपालभाषामा नेपाल प्रथम कवीन श्रेष्ठलाई गुठीका संस्थापक  रत्नगोपाल साँय्‌जुकाे स्मृतिमा उहाँको परिवारले स्थापना गरेको विराट सुरत्न सिरपा र गत वर्षको एसइई परीक्षामा नेपालभाषामा सर्वोत्कृष्ट अंक ल्याउन सफल सुस्मिता राजभण्डारीलाई नेपालभाषा पदकले सम्मान गरिएको थियो ।

सो अवसरमा गुठीका कोषाध्यक्ष रामगोपाल चगुठी, साहित्यकार नवीनप्रकाश श्रेष्ठ, सम्मानित व्यक्तित्व कविन श्रेष्ठ र सुष्मिता राजभण्डारी लगायतले गुठीले नयाँ पुस्तालाई नेपाल भाषासाहित्यका क्षेत्रमा आकर्षित गराउन तथा उनीहरुको अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पञ्चायतकालमा नेपालभाषा साहित्यका माध्यमबाट जनतामा राजनीतिक चेतना ल्याउने र मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने तथा विभिन्न जनजातिका भाषा, साहित्य, कला, संस्कृतिको विकास विस्तार गर्ने उद्देश्यले गुठी स्थापना गरिएको जनाइएको छ ।

Categorized in साहित्य-कला