STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लगन बहालको मल्लकालीन इतिहास मेट्ने चलखेल • स्थानीय बासिन्दाद्वारा विरोध

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १३, मंगलबार

विजयरत्न असंबरे


करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल) को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालीन इतिहासलाई नै अस्तित्वविहीन बनाउने गरी मुद्धामामिलाको थालनी भएकोे भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकताबद्ध भई त्यस्ता चलखेललाई निष्क्रिय बनाइदिने चेतावनी दिएका छन् । शिलखाना नमास्न माग गर्दै त्योभन्दा धेरै पुरानो इतिहास बोकेको लगन बहाललाई ओझेलमा पार्ने काम भएपछि स्थानीय थप आक्रोशित भएकाे बताइएको छ भने यस विषयमा केन्द्रित भई अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले शिलखाना नमास्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् । यस विषयमा सम्पदा अभियन्ता का रुपमा चर्चित स्थानीय शैलेश शाक्यले प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको उक्त ठाउँको विहार कीर्तिपुण्य महाविहार लगं बहाःको कचा बहाः (शाखा विहार)को रुपमा अवस्थित रहेको कुरा अघि सार्नुभएको छ भने अहिले भीमसेन थापाको भाईको इतिहाससँग जोडेर प्रताप मल्लकालीन ऐतिहासिक महत्वलाई ओझेल पार्ने काम भैरहेको स्थानीयहरुको गुनासो छ । भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को घरको मात्रै इतिहास उल्लेख गरी त्यहाँ रहेको तबेलाको समेत कुरा उल्लेख नगरी मल्लकालीन इतिहासलाई तोडमोड गर्ने काम भैरहेको  शैेलेश शाक्यले बताउनुभयो । अन्तिम मल्ल राजा जयप्रकाश मल्लले आफ्नी दोस्री महारानी लगं बहालको शाक्यकुलकी चेली रहेको र उनको छोरालाई दरबारमा राजकुमार बनाउने चाहना पूरा नभएपछि मावली टोलमै भएको बिहार (लगं बहाल)मा बौद्ध परम्पराअनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य बनाएको इतिहास छ । स्थानीय बासिन्दा शाक्यले छोराहरुलाई लगं बहालकोे बाहिर पट्टि रहेको अर्को विहार (जहाँ अहिले पार्क बनाउन लागिएको हो उक्त ठाउँमा) मा प्रताप मल्लकालीन विहार जीर्णोद्वार गरी आफ्नो छोराहरुलाई बौद्ध विहारमा स्थापित गरेको इतिहास प्रमाण रहेको पनि जानकारी दिनुभयो । अहिले पनि त्यस स्थानमा ऐतिहासिक विहारका बौद्ध चैत्यका साथै विहारसँग सम्बन्धित अन्य मुर्ति र शिलापत्रसहितका भग्नावशेषहरु भेटिनुले पनि त्यहाँ बौद्ध विहार रहेको तथ्यलाई कसैले नकार्न नसकिने उहाँको तर्क छ । उहाँले बताउनु भए अनुसार जयप्रकाश मल्लले वि.सं. १८०१ मा उक्त विहारमा बज्रधातुमण्डललगायत अन्य बौद्ध मूर्तिहरु स्थापना गरेको विभिन्न शिलालेखको अध्ययनबाट प्रमाणित हुन्छ । काठमाडौँ महानगरपालिकाले पनि स्थानीय र थापाहरुसँगको पटक–पटकको छलफलपछि लगन विहार र शिलखाना दुबैको ऐतिहासिक महत्वलाई जीवित राख्दै खुला ठाउँको सदुपयोग गरी पार्क निर्माणको योजना अघि बढाएको जानकारी दिएको छ । घना बस्ती रहेको भित्रि सहरको यो ऐतिहासिक तथा अद्वितीय कलाकृति भएको स्थानमा पुरातात्विक महत्वलाई जगेर्ना गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भन्ने हेतुले पार्क निर्माणको कार्य अघि बढाएको पनि काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । स्थानीय बासिन्दाहरुले काठमाडौँ महानगरपालिकालाई बुझाएको पत्रमा पनि सो ठाउँमा जयप्रकाश मल्लले जीर्णोद्धार गरेको विहार माथवरसिंह थापाले अतिक्रमण गरी विहारको अस्तित्व समाप्त गरेको व्यहोरा जोन के. लकले आफ्नो पुस्तक ‘बुद्धिष्ट मोनास्ट्रिज अफ नेपालमा समावेश भएको उल्लेख गरेका छन् । अहिले भवनमा रहेको विश्वरुपको भित्तेचित्रमा उल्लेखित मिति अनुसार यो संरचना वि.सं. १८७६ मा निर्माण भएको देखिन्छ । त्यसलाई आधार मान्ने हो भने पनि त्यो भवनभन्दा त्यहाँको विहारको इतिहास धेरै पुरानो हो भन्ने प्रमाण हुन्छ । सुशिलविक्रम थापालगायतले सर्वोच्चमा मुद्दा दायर गरेपछि अहिले पार्क निर्माणको काम रोकिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । न्यायधीश हरिकृष्ण कार्की र पुरुषोतम भण्डारीको असोज ८ को संयुक्त इजलासले असोज १८ को पेसी तोकेको छ । सर्वोच्चले शिलखानाको जगलाई असर नपर्ने गरी संरचना निर्माण गरेको प्रमाणसहित उपस्थित हुन दुबै पक्षलाई उपस्थित हुन भनेको छ । काठमाडौँ महानगरपालिकाले भने सर्वोच्चमा मुद्दा चलिरहेको भन्दै यो विषयमा थप नबोल्ने बताएको छ । काठमाडौँ महानगरपालिका सहरी योजना अयोगले तयार पारेको डिजाइन अनुसार यो स्थानमा पहिलाको भवनको स्वरुपलाई मूर्तरुप दिनका लागि त्यही स्थानमा भवनको जगले नओगटेको स्थानमा असर नपर्ने गरी पुरात्वात्तिक महत्वका सामाग्रीहरु राख्न रेप्लिका (प्रतिरुप) संग्राहलय समेत निर्माण गरिने छ । सहरी योजना आयोगले डिजाइन तयार पार्दा पनि प्रतिष्ठानसँग पटक–पटक छलफल गरी अन्तिम रुप दिएको जानकारी दिएको छ । विपद्का बेलामा समेत मानवजीवन बचाउनका घनाबस्ती रहेको यस्तो स्थानमा दुबैको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै सहमतिका साथ अघि बढेको पनि आयोगको भनाई छ । ८ सय वर्गफिट जमिन ओगट्ने तीन तलाको भवन बनाउने डिजाइन तयार भएपनि प्रतिष्ठानका पदाधिकारीहरुकै माग अनुसार १२ सय वर्गफिट बनाएको पनि आयोगको दाबी छ । २०७७ साल माघ मसान्तासम्ममा सम्पन्न गर्ने गरी कंडेल/के.एण्ड केजी/रमिता जे.भीले निर्माणको जिम्मा पाएको छ । यो पार्क करीब ४ करोड लागतमा निर्माण हुन लागेको हो । 

Categorized in उपत्यका