STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राधा दामोदर माविमा संस्कृत भाषा र नीति शास्त्र अनिवार्य

Janjati Khabar | २०७९ भाद्र १०, शुक्रबार

स्याङ्जाको चापाकोट नगरपालिका ७ रिमाल्दीमा रहेको राधा दामोदर माविमा संस्कृत भाषा र नीति शास्त्र विषय अनिवार्य गरिएको छ । कक्षा छ, सात र आठ का विद्यार्थीले अनिवार्य विषयका रुपमा १००÷१०० पूर्णाङ्कको यी दुई विषय अध्ययन गर्दै आइरहेका छन् । संस्कृत भाषा लोप हुन नदिनुकासाथै संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित विद्यालयमा अनिवार्य विषयकोरुपमा यसलाई समावेश गरिएको विद्यालयका प्रधानाध्यापक अनन्तराज गैह«ले बताउनुभयो ।

कक्षा छ, सात र आठमा अनिवार्य गरिएको यी विषय भने कक्षा नौ र १० मा ऐच्छिक विषयकारुपमा राखिएको छ । विद्यार्थीले अध्ययन गर्न चाहेमा कक्षा ११ र १२ मा पनि संस्कृत भाषा अध्यापन गराउन सकिने उहाँले बताउनुभयो ।

उक्त तीन वटा कक्षामा हाल ९० जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले अङ्ग्रेजी र नेपाली माध्यमसँगै संस्कृत भाषा र नीति शास्त्रलाई पनि अनिवार्य विषयकारुपमा अगाडि बढाएको हो । यस विद्यालयबाट गएको एसईई परीक्षामा एक जना विद्यार्थी संस्कृत भाषाको परीक्षामा सहभागी भएका थिए ।

 “अन्य अनिवार्य विषयजस्तै संस्कृत भाषा र नीति शास्त्र कक्षा छ, सात र आठमा अनिवार्यरुपमा विद्यार्थीले पढ्नुपर्छ”, उहाँले भन्नुभयो, “विद्यालयमा अध्ययनका लागि ब्राह्मण, दलित, जनजाति, आदिवासी लगायतका विभिन्न समुदायबाट आउने सबै विद्यार्थीले रुचिपूर्वक अध्ययन गर्दै आएका छन् ।”
वैष्णव धर्मावलम्बीहरुको केन्द्रकोरुपमा रहेको राधा दामोदर नेपाल निम्बार्क पीठ केलादीधामले वि।सं। २०३८ सालमा विद्यालय स्थापना तथा सञ्चालनमा सहयोग गरेको थियो ।

तत्कालिन समयमा जिल्लाकै दुर्गममा रहेको उक्त विद्यालय सञ्चालनका लागि निम्बार्क पीठले विद्यालयको पूर्वाधार निर्माण तथा शिक्षकको पारिश्रमिकका लागि आर्थिक सहयोग गरेको थियो । “विद्यालयको दिगो आम्दानीको स्रोतकारुपमा पीठले नौ रोपनी जमिन निःशुल्क उपलब्ध गराएको थियो”, उहाँले भन्नुभयो, “निश्चित मुल्य लिएर खेतीपातीका लागि काम गर्न दिएका थियौँ, पछिल्लो समय काम गर्ने मानिसहरु नभएपछि घाँस लगाएर बिक्री गरिदैँ आएको छ ।”

निम्बार्क पीठ नजिकै भएको र त्यहाँ संस्कृत भाषाको माथिल्लो तहसम्मको अध्ययन अध्यापन हुने भएकाले पनि पढाउने गुरुहरु सहजरुपमा पाईने गरेको छ । “संस्कृत भाषालाई ज्ञानको स्रोतकोरुपमा नभई कर्मकाण्डी भाषा भनेर अनेकन टिकाटिप्पणी गरेको पाईन्छ”, उहाँले भन्नुभयो, “यो भाषा साधारण भाषै होइन, यस्को गहिराई कति छ कति ? यो अवर्णनीय छ साथै विश्वका अन्य भाषाहरु पनि यसबाट प्रभावित छन् ।” – रासस
 

Categorized in शिक्षा