STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बौद्ध वक्तृत्वकलामा पुरस्कारले पचास हजार पुर्याउने घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २३, सोमबार

बौद्ध युवा कमिटी ललितपुरले आयोजना गरेको यस वर्षको २८ औं नेपालमण्डलव्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाः प्रथम हुनुभएको छ ।

बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१  गते शनिबार सो प्रतियोगितामा प्रथम हुने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो । प्रतियोगितामा शाक्यसिंह बौद्ध परियति शिक्षालयका अनिशा श्रेष्ठ द्वितीय र  धर्म साकच्छा संघ हःखाका प्रतिष्ठा शाक्य तृतीय हुनुभएको छ। प्रतियोगिता द्वितीय र तृतीय हुने दुबै जनाले कर्म र कर्म फलको विषयमा प्रस्तुत गरेका थिए ।

त्यस्तै सान्त्वना हुनेमा दिपावती पुस्तकालयका पारमी शाक्य ले विपश्यना ध्यानको महत्व र निर्वाणमूर्ति विहारका सजगता मानन्धरले बालबालिकाको लागि बुद्ध शिक्षाको आवश्यकता बारे बोल्नुभएको थियो। प्रतियोगितामा १० वटा संघसंस्थाको सहभागिता रहेको थियो । लोट्स रिसर्च सेन्टरका मधुर शाक्यले कर्म र कर्म फल, दिपावती बौद्ध परियतिका आर्य बि. सीले बुद्ध धर्म एक वैज्ञानिक ज्ञान दर्शन, जगतसुन्दर ब्वनेकूथि परियति केन्द्रका रविना श्रेष्ठले बुद्ध धर्ममा उपचार पद्धति, महाबौद्ध पुस्तकालयका प्रसिद्धिका शाक्यले बुद्ध धर्मको उत्थानमा बहाःबहीको महत्व, युवा बौद्ध समूहका मोनिका केसीले परियति शिक्षाको महत्वबारे बोल्नुभएको थियो ।

सर्वोकृष्ट तीन स्थान ओगट्नेलाई क्रमशः नगद पुरस्कार १५ हजार रुपैयाँ १० हजार र ८ हजार रुपैयाँ  र द लास्ट रिसोर्टको तर्फबाट सिन्धुपाल्चोकको भोटेकोशीमा बञ्जी जम्पको टिकट प्रदान गरिएको थियो। प्रथम हुनेलाई लकी टुर एण्ड ट्राभल्सले २ जनाकोलागि काठमाडौं पोखराको एकतर्फी हवाजजहाज टिकट प्रदान गरेको थियो।  पुरस्कृत हुनेहरुलाई नगद पुरस्कारसहित सहभागीलाई जनही एक एक हजार गरी जम्मा २५ हजार  रुपैयाँ समाजसेवी मोतिलाल शिल्पकारले प्रदान गर्नुभएको थियो। बागमति प्रदेशका सांसद् शोभा शाक्यले सबै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

प्रतियोगिताका निर्णायक मण्डलमा भिक्षु विमलो, शाक्य सुरेन, मदनरत्न मानन्धर र नरेशवीर शाक्य रहनुभएको थियो।नगद पुरस्कारसहित युवालाई आकर्षक गर्ने पुरस्कारले गर्दा यस वर्षको प्रतियोगितामा युवावर्गको रौनक र उत्साह छाएको थियो।

यस अघि सो प्रतियोगिताको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले यस किसिमका रचनात्मक क्रियाकलापले किशोर, किशोरी र युवावर्गमा बुद्धको ज्ञान बुझाउने र व्यक्तित्व विकास गर्ने धारणा राख्नुभयो ।

लुम्बिनी विकास कोषको अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले लु्म्बिनीको गुरुयोजना अनुरुप लुम्बिनि लाई  विश्वको शान्ति र पर्यटन केन्द्र बनाउन आफूले प्रयास गरिरहेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले बुद्धको सन्देश फैलाउने, संस्कृतिको विकासमा मन्त्रालय सधैं सहयोगी हुने पनि बताउनुभयो।

सभामा भिक्षु कौण्डन्यले कार्यक्रमलाई समयसापेक्ष बनाउँदै युवावर्गको कोणबाट बुद्ध धर्मका विविध विषयको चयन र प्रस्तुतीलाई आकर्षण र मौलिक बनाउने विषयमा अझ गृहकार्य गर्दै अघि बढ्नुपर्ने खाँचो औल्याउनुभयो। बागमति प्रदेशका सांसद् शाक्यले नेपालमण्डल व्यापी पर्वलाई बागमति प्रदेश व्यापी बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा युवावर्गलाई लक्षित गरी बुद्ध धर्मको विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा  कमिटीका संस्थापक राजु शाक्य र पूर्वअध्यक्ष सुनील महर्जनलाई सम्मान गरिएको थियो । सम्मानित हुनेलाई कमिटीका अध्यक्ष सतिश शाक्यले फूल माला लगाई, भिक्षु कौण्डन्यले दोसल्ला ओढाई र मन्त्री श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभयो। 

बौद्ध युवा कमिटीका पूर्वअध्यक्ष सुनील महर्जनले यस पर्वलाई बुद्ध धर्मको कोण र क्षमता विकासको कोणबाट हेर्नुपर्ने उल्लेख गर्दै यसमा युवावर्गको रुचि, चाहना र आवश्यकतालाई सम्बोधन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बौद्ध वक्तृत्वकला पर्व मूगुथिको अध्यक्ष विश्वन्तर शाक्यलाई कार्यकालको सफलताको कामना गर्दै शुभकामना एवं बधाई पत्र प्रदान गरिएको थियो । अध्यक्ष शाक्यले आफ्नो कार्यकालमा पहिलो हु्नेलाई प्रदान गरिने नगद पुरस्कारको राशि ५० हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच सोही समारोहमा मूगुथिको तर्फबाट समाजसेवी मोतिलाल शिल्पकार,स्वर्गीय धर्मबहादुर शाक्यका सुपुत्र चन्द्रसिद्धि शाक्य,मूगुथिका निर्वतमान अध्यक्ष पूर्णराज शाक्य र बौद्ध युवा कमिटीका अध्यक्ष सतिश शाक्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

विसं २०५० सालदेखि प्रत्येक वर्ष असार पूर्णिमा (धर्मचक्र प्रर्वतन दिवस) को अवसरमा यस कार्यक्रम सञ्चालन हुँदै आएकोमा कोरोना संक्रमणका कारण २०७७ र २०७८ दुई वर्ष भने यो कार्यक्रम आयोजना हुन सकेको थिएन भने वि सं २०८० सालमा २९ औं बौद्ध वक्तृत्वकला पर्व सञ्चालन गर्ने जिम्मेवारी काठमाडौंको डुल्लु, चागलस्थित जगतसुन्दर ब्वनेकूथिले लिएको छ ।

Categorized in साहित्य-कला