STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बंगलादेशको प्लास्टिक कारखानामा आगलागी, जलेर आठ जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २६, बिहिबार

बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी शुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीलाई भन्नुभयो, “एक व्यक्तिको घटनास्थलमा नै जलेर मृत्यु भएको थियो र ३३ जना कामदार गम्भीर रूपमा घाइते भएका थिए । तीमध्ये सात जनाको ढाका मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।” उहाँले उक्त कारखाना अवैध रूपमा सञ्चालन भएको पाइएको जानकारी दिँदै आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकहरुलाई तीन घण्टा लागेको बताउनुभयो । चिकित्सक समन्तलाल सेनले २४ जना कामदारको अवस्था अझै पनि गम्भीर रहेको जानकारी दिनुभयो । अधिकाँशको मुखबाट विशाक्त धुवाँ शरीरभित्र पसेको र आधाभन्दा बढी शरीर आगोले जलेकाले मृतकको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । बंगलादेशमा विशेष गरी सुख्खा हिउँदको मौसममा सुरक्षा संहिताहरुको कार्यान्वयनमा बेवास्ता गरिने भएका कारण कारखानामा आगो लाग्ने काम सामान्य झैं हुने गरेको छ । यसै वर्षको फेब्रुअरीमा ढाकाको पुरानो ऐतिहासिक मुगल भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए । सन् २०१२ को नोभेम्बरमा एउटा गार्मेन्ट कारखानामा आगो लाग्दा कम्तिमा १११ जनाको मृत्यु भएको थियो । यस घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक विभत्स कारखाना आगलागीका रुपमा लिइने गरिन्छ ।
Categorized in अन्तर्राष्ट्रिय