STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पानीको हाहाकार अन्त्य हुने भएपछि स्थानीय हर्षित : दमाईचाघाटमा ९० हजार लिटर पानी अट्ने ट्रंयाकी बन्ने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १४, आइतबार

विजयरत्न असंबरे


खानेपानी हाहाकारको समस्या समाधान गर्ने काठमाडौं महानगरपालिका– १९ का स्थानीयवासीको वर्षौदेखिको लक्ष्य पुरा हुन छाँटकाँट देखिएको छ । दमाईचाघाटमा खानेपानी ट्यांकी (रिजर्भ भ्वाएर) बनाउन शुरु गरिएकोले शुद्ध पानी पिउन अब स्थानीयले धेरै समय पर्खिन नपर्ने भएको छ । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको वाग्मती प्रदेशका सांसद् राजेश शाक्यले जानकारी दिनुभयो । सांसद् शाक्यका अनुसार चालू आर्थिक वर्षमा रिर्जभ भ्वाएर ट्रंयाकी बन्ने छ । त्यसका लागि ३९ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कूल लागत मध्ये प्रदेशबाट ३५ लाख ८० हजार ६ सय ८९ रुपैयाँ व्यहोर्ने छ । बाँकी ३ लाख ९७ हजार ८ सय ५४ रुपैयाँ जनसहभागिता मार्फत जुटाइने छ । फिल्टर प्लान्ट बनाउन प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजितको गरिएको बताउँदै सांसद् शाक्यले भन्नुभयो । सांसद् शाक्यका अनुसार प्रदेशले १ करोड ७५ लाख बजेट विनियोजित गरेको छ । ‘यसले गर्दा आउँदो आर्थिक वर्षभित्रमै फिल्टर प्लान्ट बनाइसक्ने छौं । त्यसपछि पानीको हाहाकारको समस्या समाधान हुनेछ । नजिकैको वडाहरुमा पनि पानी वितरण गर्न सकिने छ । ’ सांसद् शाक्यले भन्नुभयो। सो वडासंगै १५, १८, १९ र २० वडाहरुमा खानेपानीको समस्याका कारण स्थानीयहरुले निकै हैरानी खेप्नुपरिरहेका छन् । २०६५ सालमा तत्कालीन भौतिक आवास तथा निर्माण मन्त्री हिसिला यमीको पहलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दमाईचा घाटमा डिप बोरिङ गरेको थियो । ‘बोरिङको पानी प्राविधिक जाँच गर्दा आइरन र एमोनियाको मात्रा बढी देखियो । यसले गर्दा सो पानी स्वास्थ्यका हिसाबले पिउन योग्य भएन ।’ दमाईचाघाट उपभोक्ता समितिका अध्यक्ष मिलन शाहीले भन्नुभयो । बोरिङको पानीलाई पिउन बनाउन स्थानीयले त्यतिबेलादेखि फिल्टर प्लान्ट बनाउनुपर्ने माग राखेका थिए । समितिका उपाध्यक्ष तीर्थ महर्जनका अनुसार फिल्टर प्लान्ट बनाउन केयुकेएलका प्राविधिक टोलीले १ करोड २५ लाखको लागत अनुमान गरेको थियो । ‘बजेटको व्यवस्था गरिदिन केयुकेएलमा धेरै पटक डेलिगेशन गएँ । त्यति धेरै बजेट बिनियोजित गर्न नसक्ने जवाफ केयुकेएलबाट आएपछि बोरिङको पानी खाने स्थानीयको इच्छा बीचमै तुहिएको थियो । ’ समितिका उपाध्यक्ष महर्जनले भन्नुभयो । यसैबीच शनिबार एक समारोहकाबीच रिजर्भ भ्वाएर बनाउन शिलान्यास गरिएको छ । काठमाडौं क्षेत्र नं ८ का संघीय सांसद् जीवनराम श्रेष्ठ, प्रदेश सांसद् राजेश शाक्य र काठमाडौं महानगरपालिका– १९ का वडाअध्यक्ष शशिलाल श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । ट्रंयाकीमा ९० हजार लिटर पानी अटाउने छ । बोरिङबाट प्रति सकेन्ड १५ लिटर र दुई घण्टाभित्र ९० हजार लिटर पानी बग्ने गर्दछ । फिल्टर प्लान्ट बनेपछि करिब ५ हजार घर परिवार लाभान्वित हुने बताइएको छ ।
Categorized in उपत्यका