STC 810x100 adv
janswastha 11 11 78

पाँचखालको ऐतिहासिक सम्पदा उत्खननमा बेवास्ता

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २५, सोमबार

काभ्रेपलाञ्चोक, २५ मङ्सिर : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा उत्खननमा सरोकारवाला निकायले बेवास्ता गरेका  छन् । विसं २०७७ चैतमा पुरातत्व विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्तस्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनः जियोफिजिकल सर्भे गरिनुपर्ने उल्लेख छ ।
    
    बेलायती विज्ञ समूहको सर्भेको प्रतिवेदन २०७८ सालमै विभागमा पठाइएको थियो । प्रतिवेदनमा उक्त स्थानमा लिच्छविकालीन र मध्यकालीन सम्पदा देखिएपछि पुनः सर्भे गरी उत्खनन् गर्न सुझाइएको थियो । प्रतिवेदनमा पुनः सर्भे गर्न सुझाइएपछि विभाग र पाँचखाल नगरको समन्वयमा सर्भे तथा उत्खनन् गर्न छलफल भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकासँग थप प्रक्रियाका लागि छलफल र पत्राचार भएको हो, उक्त स्थानको जमिन प्रति हो वा व्यक्तिगत, छानविन गर्नुपर्छ यसका लागि थप पहल भएको छैन ।”

    बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरको विभिन्न स्थानमा गरिएको सर्भेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएपछि पुनः सर्भे गरिने विभागले जनाएको थियो । प्रतिवेदन आएपछि कुँवरले विदेशीसहित विज्ञ टोलीको प्रतिवेदनले पाँचखालमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखाएकाले योजना बनाइ विभागका प्राविधिक एवं पुरातत्व अधिकृतद्वारा चालु आर्थिक वर्षभित्र पुनः सर्भे गरिने बताउनुभएको थियो । विस्तृत प्रतिवेदन सार्वजनिक गरेपछि नै पाँचखालको सम्पदालाई प्राथमिकतामा राखेर थप उत्खनन गर्नुपर्ने जनाइएको थियो ।
    
    यस्तै विभागले पुनः सर्भे र उत्खननबारे कार्ययोजनासहित पाँचखाल नगर कार्यालयलाई बुझाइने जनाएको थियो । कुँवरका अनुसार स्थानीय तहले नै आफ्ना क्षेत्रका ऐतिहासिक सम्पदा संरक्षण एवं जिर्णोद्वारा गर्नुपर्ने छ । उहाँले त्यतिबेला पहिलो चरणमा जमिनमुनि के कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्भे गरिएको बताउनुभयो । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्भे गरेको थियो ।
    
    नगरप्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा भरपुर प्रयास भइरहेको बताउनुभयो । “थप सर्भेक्षण भएर प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणको ‘गुरु योजना’ बनाइन्छ, सम्पदा क्षेत्रमा जमिनका विषयमा छानविन पनि गर्दै गरौँला”, उहाँले भन्नुभयो । उहाँका अनुसार पुनःसर्भेका लागि विभागले थप प्रक्रिया थाल्नुपर्छ ।

    बेलायतस्थित दूरहाम विश्वविद्यालयको विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमालीघारी, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नम्बर वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्भे गरेको थियो । विभागले तथ्याङ्क विश्लेषण गर्दा नै सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको तथा बेलायतबाट आएको सर्भे प्रतिवेदनले पनि एकैखालको सम्भावना देखाएको हो । 
    
    यसअघि विभागले युनेस्कोलाईसमेत सन् २०२०, जुन् २९ मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयको आठ सदस्यीय विज्ञ टोली मार्चको पहिलो साता नेपाल आएको थियो ।
    
    नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छवीकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले विभागले बेलायतबाट विज्ञ टोली मगाएको थियो । त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको थियो ।
       
    पाँचखाल क्षेत्रमा करिब तीन वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छवीकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको हो । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छवीकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका तत्कालीन अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छवीकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

    उक्त स्थानमा प्रारम्भिक उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ पक्की इँटाको गारोभित्र माटाको डुँडको पानी पाइपलाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख छ ।
    
    पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ दुई वर्षअघि नै जिल्ला प्रशासन कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नु परे विगागको स्वीकृति र सहमति गराउन पाँचखाललाई पत्रमार्फत जानकारी गराएको थियो । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसनधान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ । – रासस;

Categorized in रोचक