STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

परिबन्धन

Janjati Khabar – राकेश महर्जन | २०७७ आश्विन २४, शनिबार

डेस्कमा तस्बिरसहितको एउटा फ्रेम । तस्बिरमा एकजना युवक । एकदम खुशी देखिने ती युवक तालि पिटिरहेको छ । ऊसँगै लहरै साहित्य क्षेत्रका दुई वरिष्ठ साहित्यकार । दुवै वरिष्ठका हातमा दुई दुईवटा पुस्तक । “पुस्तक लोकार्पण”को ब्यानर उनीहरुको पछाडि स्पष्ट देखिन्छ ।

त्यो तस्बिरसँगै पुस्तकको एक ठेला छ । तस्बिरमै लोकार्पित पुस्तकको ठेला । पुस्तकको कभरमा ठूल्ठूला अक्षरमा देखिन्छ, “एक मोड ः एक अन्त” । कथासंग्रह । लेखकको रुपमा नामको किटानी छ – महेश नेवाः । त्यो पुस्तकको ठेलासँगै अरु केही पुस्तक, पेन, मार्कर, डायरी पनि डेस्कमा छन् । एउटा कुनामा एसटे« र त्यसमाथि लाशसरि जलिरहेको एउटा चुरोट ।

दुई औंलाले च्यापी त्यो ‘लाश’लाई युवकले मुखमा राखे । तस्बिरमा एकदम खुशी देखिएका ती युवक, महेश नेवाः,को खुशी कतै हराएको देखिन्छ ।

x

भित्तामा सजिएको  छ प्रमाणपत्र । पत्रले प्रमाणित गरिदिएको छ – तपाईंको पहिलो कथासंग्रह – एक मोड : एक अन्त ‘बेस्ट सेलर’ हुन सफल भएकोमा महेश नेवाःज्यूलाई यो प्रमाणपत्र प्रदान गरिएको छ । 

प्रमाणित गर्ने अरु कोही नभई काठमाडौंको एउटा नाम चलेको प्रकाशक र उसको सहीछाप ।

एक निमेषमै झुण्ड्याइएको प्रमाणपत्र झर्या‌मझुरुम फुट्छ । भुइँमा खस्छ । कसैले हानेको ढुंगाले चकनाचुर हुन्छ । ढुंगा हान्ने एकजना युवक परिदृश्यमा झुल्किन्छ । टाउकोमा रातो रिबन बाँधेका । रिबनमा नारा प्रष्ट देखिन्छ – जिन्दावाद !  पाखुरामा कालो पट्टि बाँधेका । विरोधको प्रतीक । एक पक्षको जिन्दावाद त अर्को पक्षको मूर्दावाद घन्काइरहेका । हातमा बोकेको बाँसको लठ्ठीले नजिकको दराजलाई ताकेर हान्छ । दराजमा रहेका ऐनाहरु चकनाचुर हुन्छ । आक्रोशित युवकले दराजभित्रका सम्पूर्ण पुस्तकहरु छरपष्ट पारिदिन्छ । न्यायको लागि यो बुलन्द आवाज हो, अन्याय सहन सक्दैनौं भन्दै पुस्तकमाथि आगो राख्छ । दागबत्ती राखे जस्तो– छ्वालिको मुठ्ठामा लागेको आगो पुस्तकमा झोसिदिन्छ । आगोसँगै विस्तारै जल्न थालेका पुस्तकको थुप्रोबाट एक मुस्लो धुँवा बाहिरिन्छ ।

x

धुँवा...हावामा धुँवाको चक्का चक्का उडिरहेको छ । चक्का ठूलो हुँदै बिलिन भइरहेको छ । ती धुँवाको चक्का महेशको मुखबाट निस्किरहेको छ । ‘आन्दोलनकारी’ युवकको जिन्दावाद ! मूर्दावाद !! को ध्वनि कोठामा अझै कतै मसिनो स्वरमा सुनिरहेको जस्तो भान हुन्छ । महेशले कोठामा आँखा डुलाए । सम्पूर्ण सामानहरु यथास्थितिमा यथास्थानमा यथावत छन् । 

x

आफ्नो प्रथम कथासंग्रह नै ‘बेस्ट सेलर’ भएपश्चात् महेशलाई थुप्रै साहित्यिक गोष्ठीहरुबाट निमन्त्रणा आएको थियो । तर समयको अन्तरालमा महेशलाई प्राप्त निमन्त्रणामा कटौती हुँदै गए । जाने गरेका साहित्यिक गोष्ठीहरुमा पनि सबैले अर्को पुस्तकको आशा मात्रै प्रकट गर्ने । अर्को कथा अब कहिले पढ्न पाइन्छ ? यस्ता मात्र प्रश्न आइरहने हुँदा कतिपय साहित्यिक गोष्ठीमा महेश दोहोर्याएर जान छोडे ।

x

एकजना युवती महेशको कोठामा आउँछे । उनीले लगाएको कुर्तासलवार ठाउँ–ठाउँमा च्यातिएको छ । च्यातिएको लुगाबाट लाजका अंगहरुले लुकी लुकी नियालिरहे । छोडिएको कपाल हेर्दा लाग्छ कसैसँग भर्खरै मात्र लुछाचुँडी परेको हो । हात, घाँटी र गालामा आलो घाउहरु । कसैले टोकेर छाडिदिएका निशानहरु ।

लाखे भित्रिएसरी ती युवती जंगिएर कहिले यता कुद्छे, कहिले तक्क रोकिन्छे त कहिले बिस्तारै बिस्तारै हिँड्छे । कोठा नै थर्किने गरी ठूलो हाँसो हास्छे त कहिले दुःखपीडाका साथ पागलसरी रुन पुग्छे । भित्तामा रहेका बत्तीका स्वीचहरु अन–अफ गर्दै जान्छे । अचानक कोठामा रहेको टिभी ‘अन’ हुन्छ । समाचारवाचक युवक स्क्रिनमा देखापर्छ । – “नमस्ते ! आज २०७३ फागुन २५ गते बुधबार, ८ मार्च २०१७.... अब आजका मुख्य समाचार... काठमाडौंको नयाँ सतकमा एक महिलाको बलात्कार पछि हत्या भएको छ... ।

च्यानल चेन्ज हुन्छ ।

टिभीमा फिल्मको एउटा दृश्य । एकजना युवती चिच्याएर भागिरहेकी छे । उसको पछाडि केही गुण्डाहरु ।

पुनः च्यानल चेन्ज....

केही गुण्डाको एक समूहले एक युवतीमाथि जबर्जस्ती गरिरहे ।

पुनः च्यानल चेन्ज....

सामूहिक बलात्कार ! युवतीको चिच्याहट बढ्दै जान्छ ।

अचानक, ह्वाइट न्वाइज सँगै टिभीको स्क्रिन झ्यार्रर्र भइदिन्छ ।

x

अब ह्वाइट न्वाइजको झ्यार्रर्र आवाज मात्र छ । महेशले हेडफोन सुनिरहेको छ । उसको मोबाइलमा ‘ह्वाइट न्वाइज साउण्ड’ प्ले हुँदैछ । महेशले प्लेअरको ‘स्टप’ बटन थिच्छ । हल्का सुनिएको ‘ह्वाइट न्वाइज’को आवाज बन्द हुन्छ । हेडफोन निकाल्दै दिक्कलाग्दो पारामा महेश आफैसँग बोल्छ – There is peace and serenity in white noise... bullshit !!

 x

महेशको आँखा खुल्छ । उनी कराउन खोज्छ । आवाज निस्किँदैन । महेशको मुखमा रुमाल कोचिएको छ । ऊ सोफामा पल्टिरहेको छ । उठ्ने कोशिश गर्छ । तर असफल भई त्यहीं लड्छ । उसको हातखुट्टा बलियो गरी बाँधिएका छन् । कसले बाँध्यो, कसले मुखमा रुमाल कोच्यो, उसले विचार नै गर्न सकेन । सम्झन खोज्यो, तर अहँ... कुनै पनि दृश्य प्रष्ट भएन । हातखुट्टा बाँधिएको डोरी फुकाल्ने असफल प्रयास महेशले गरिरहे ।

अकस्मात् महेशको आँखा आफ्नो लेखन डेस्क र चिअरतर्फ गयो ।

चिअरमा महेशले एउटा पुस्तक पढिरहेको छ । उसको हातमा जाँ पल सात्रेको ‘बिइङ नथिङलेस’ पुस्तक रहेको छ ।

अलि पर आन्दोलनकारी युवक नारा दिई कराइरहेको छ । उसको सामु पुस्तकको एक थुप्रो दनदन बलिरहेको छ ।

अर्कोतर्फ पागलसरी युवती उफ्रिरहेकी छे । लगाएको लुगालाई आफैले च्यात्दै छे । उसको शरीरबाट लुगाहरु क्रमशः बिलिन हुँदैछ ।

xxx

दुई दिन भयो महेश कोठाबाट बाहिर ननिस्कएको । कम्तिमा पनि एउटा कथा त लेख्छु लेख्छु, यही अठोट महेशले लिएको थियो ।


Categorized in साहित्य-कला