STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तेमाल जात्रामा भक्तजनको भीड

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा लाखौँ विशेष गरी तामाङ समुदायका भक्तजनले दीप प्रज्वलन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा बिहीबार तीन लाख बढी भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बालेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलले विसं १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई जात्रा मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएपछि यसको नाम तेमाल रहन गएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । बिहीबार बौद्ध चैत्य परिसरमा जम्मा भएका भक्तजनले बत्ती बाल्नुका साथै ङो मोन्लम गरे । बौद्ध चैत्य परिसरमा आएका भक्तजनले रातभर यहाँ बसेर बत्ती बाल्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । चैत्य माथिको भागमा जान भने बेलुकी आठ बजेपछि बन्द गरिएको अध्यक्ष लामाले सुनाउनुभयो । कार्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्ध, मार्गशीर्ष शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोककै धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा लाग्ने तेमाल जात्राका बीचमा सम्बन्ध रहने गरेको समितिका कार्यकारी निर्देशक वसन्त लामा बताउनुहुन्छ । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा बत्ती बालेका तामाङ समुदायका भक्तजन पूर्णिमाका दिन बिहानै बालाजु बाइसधारामा स्नान गर्छन् । सक्नेले नागार्जुनस्थित जामाचोमा दर्शन गरी त्यसै दिन स्वयम्भू चैत्यमा पूजा गर्नुपर्ने विधि छ । नसक्नेले बालाजु बाइसधारापछि सिधै स्वयम्भूमा पूजा गरेपछि तेमाल जात्रा समापन हुन्छ । हाल जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ । घना जङ्गल भएकाले यो बाटो जामाचो जाँदा समूहमा जानुपर्ने हुन्छ । जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । जामाचो जान हाल जीपलगायत सवारी जान सक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेरसमेत जान सकिने समितिका कार्यकारी निर्देशक लामाले बताउनुभयो । सत्ययुगमा विपश्वी बुद्धले जामाचोबाट उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ । त्यही बेलादेखि चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने परम्परा शुरु भएको हो । राजा रिञ्जिन दोर्जे बलका पालामा यसलाई तेमाल जात्रा नामकरण गरियो । हाल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानुपर, ललितपुर लगायत उपत्यकाका विभिन्न स्थानका तामाङ समुदायको यो जात्रामा भीड लाग्ने गर्छ ।
Categorized in राष्ट्रिय