STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जीर्ण बन्दै लमजुङ दरबार

Janjati Khabar | २०७९ श्रावण ६, शुक्रबार

लमजुङ, ६ साउन , सोह्रौँ शताब्दीमा निर्माण भएको जिकिर गरिएकोे लमजुङ दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । बेंसीसहर नगरपालिका वडा नं ३ गाउँसहरमा रहेको उक्त दरबार संरक्षण तथा मर्मत नहुँदा दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको उक्त दरबारलगायत अन्य पुराना संरचना पनि  बेवास्ताको सिकार भइरहेको छ । विभिन्न काल खण्डमा धेरै दरबार बने। बाइसेचौबिसे राज्यका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार हुँदै बसन्तपुरसम्मका नयाँ–नयाँ दरबार बनेका थिए ।

ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वका दरबारको उत्तिकै महत्व रहँदा पनि  एतिहासिक लमजुङ दरबार भने अझैसम्म ओझेलमै छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने  र त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए  । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ  । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनःकास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।

उनकोे मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनीपछि क्रमशः चुडा शाह १६४५, अचित शाह १६६२, नरेन्द्र शाह १६९३, केहरिनारायण शाह १७३३, भीम शाह १७९४, रीपुमर्दन शाह १७९८ र बीरमर्दन शाहले १८०२ देखि १८३९ सम्म गरी नौ पुस्ताले उक्त दरबारबाट शासन चलाएका थिए । लमजुङको अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीले बताए । शाहवंश राजा आएपछिसमेत धेरै समयसम्म घले राजा रहेको जानकारको भनाइ छ ।

त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका हिन्दू धर्मावलम्बी खसआर्य समुदाय र लमजुङका खजे दुरालगायत दुराहरुको पहलमै लमजुङमा घले राजाको सट्टामा अर्को राजा बनाइएको स्थानीय जानकार देवबहादुर गुरुङले बताउनुभयो ।  शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउँथे  ।

नरहरि राजा भएका बेला यशोबह्माका छोराले झगडा गरेपछि कान्छा छोरा द्रव्यशाह राइनासकोटको गोठमा बसेका थिए । उनी लमजुङ दरबारमै हुर्किएपछि उक्त गोठमा बस्दै आएका थिए । पछि १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौडमा जितेपछि उनले लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरेर राजकाज चलाएका थिए। द्रव्यशाहको ११औँ पुस्ता पृथ्वीनारायण शाह रहेको बताइन्छ ।

पृथ्वीनाराण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल बिस्तारको अभियान थाले । विभिन्न राज्य कब्जा गरे पनि लमजुङ भने स्वतन्त्र थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहको बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारको भनाइ छ ।

सो बेला गोरखा र लमजुङको तार्कुघाटमा लडाईं हुँदा लमजुङले हारेपछि नेपाल राज्यमा गाभिएको थियो । यस्तो महत्व र तत्कालीन राज्यकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ ।

पानी पर्दा दरबारको छानाबाट पानी भित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका एक कर्मचारीले बताए  । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि दरबारको पुतली गारोलगायत अन्य भागमा क्षति पु¥याउँदा पनि मर्मत गरिएको छैन । विभिन्न समयका सरकार र राज्यका सम्बन्धित निकायले दरबारको उचित मर्मतसंहार, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न नसकेको स्थानीयवासी एवं बेंसीसहर नगरपालिका–३ का पूर्ववडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताउनुभयो ।

राज्यको बेवास्तामा परेकाले र आवश्यक प्रचारप्रसार नहुँदा सो दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वसमेत नामेट हुने अवस्थामा पुगेको उहाँको गुनासो थियो । दरबारको हेरचारका लागि बसेका प्रहरीले प्राय सबै कोठा भत्किएको दरबारको छानोमा प्वालैप्वाल परेकाले जुनसुकै बेला पनि भत्किनसक्ने अवस्थामा पुगेको बताए ।

त्यस्तै लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । सो गढी क्षेत्रमा बसोबासका भग्नावशेष, मठमन्दिर, त्यतिबेला प्रयोग गरेका ढिकीको ओखल, जाँतो, सिलौटोजस्ता सामग्री अहिले पनि देख्न पाइन्छ । मन्दिर र ढिकी, जाँतो राजाका सेनाले सुरक्षा दिने भवन यतिबेला भग्नावषेश अवस्थामा रहेको छ । उक्त दरबारमा राजा भएका शाहवंशीय राजाका फोटो र केही सामग्री गृहयुद्धका बेला तत्कालीन माओवादीले जलाएर नष्ट पारिदिएको उक्त हेरचार कार्यालयले जनाएको छ । दरबार परिसरको द्वार एवं पदमार्ग नगरपालिकाले निर्माण गरिरहे पनि दरबारको संरक्षण र मर्मत भने सम्बन्धित निकायको विशेष जिम्मा हुने बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यसका लागि बेलाबेलामा सम्बन्धित निकायमा पहल गरेका छौँ तर जति संरक्षण तथा मर्मत हुनुपर्ने थियो हुन नसक्दा जीर्ण बन्न पुगेको छ । सोह्र रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ ।” –रासस
–––

Categorized in विचार